नेपथ्यको कन्सर्टमा रमाए पूर्वप्रधानमन्त्री ओली

सफल खबर संवाददाता

आइतबार, १७ पुस २०७९, ०८ : ३८
नेपथ्यको कन्सर्टमा रमाए पूर्वप्रधानमन्त्री ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि नेपथ्यको कन्सर्टमा रमाएका छन् । शनिबार साँझ भृकुटीमण्डपमा आयोजित कन्सर्ट हेर्न उनी पत्नी र केही सहकर्मी सहित भृकुटीमण्डप पुगेका थिए । पुसको चिसोमा पनि ओलीले पुरै कन्सर्ट चाख दिएर हेरेका थिए ।

कन्सर्टमा ओलीको अलवा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेकपा एमाले नेतृ कोमल ओली, हरिबंश आचार्य, मदनकृष्ण श्रेष्ठ लगायतको समेत सहभागीता रहेको थियो । साँझ ६ बजे सुरु भएर ८ बजे सकिएको मानव सेवा आश्रमको सहयोगार्थ आयेजित कन्सर्टमा नेपथ्यले दर्शकलाई आफ्ना चर्चित गीतहरुले झुमाएको थियो ।

उल्लेख्य दर्शकको सहभागीता रहेको कन्सर्टमा नेपथ्यका गायक अमृत गुरुङले आफ्नो ब्यान्डका लोकप्रिय गीतहरु भेडाको उन जस्तो, तालको पानी, रेशम, कोसीको पानी, नैनताल लगायतका गीत प्रस्तुत गर्दा हरेक गीतमा दर्शकले निकै मनोरञ्जन लिएका थिए । रातो र चन्द्र सुर्य बोलको गीतबाट आफ्नो सांगीतिक प्रस्तुति सकाएका गायक गुरुङले गीत गाउने क्रमको बीचबीचमा नेताहरुलाई देश बनाउन र युवाहरुलाई रोजगारीको अवसर श्रृजना गरेर देशमै बस्ने बाताबरण श्रृजान गर्न पटक पटक अनुरोध गरेका थिए ।

‘मानवताको लागि संगीत’ अन्तर्गत नेपथ्यले गत मंसिर १६ गतेदेखि विराटनगरबाट सुरु गरेको यो सिजनको कन्सर्ट वीरगन्ज, हेटौँडा, नारायणघाट, नेपालगन्ज, धनगढी, सुर्खेत, बुटवल, पोखरा हुँदै शनिबार काठमाडौंको भृकुटी मण्डपमा आएर बिट मारेको हो । 

मानव सेवा आश्रमले घरपरिवारबाट अपहेलित बनेका असहाय तथा बेसहारा मानिसलाई आश्रममा आश्रय दिइरहेको छ । मानव सेवा आश्रमले १९ जिल्लाका २३ आश्रमबाट मानव सेवाको कार्य गरिरहेको छ । नेपथ्यसँग सहकार्य गरेको सांगीतिक कार्यक्रमबाट संकलित रकमले आश्रमका भवन निर्माण र असहायहरूको स्वास्थ्योपचारका लागि आपत्कालीन कोष बनाइने मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस