जाडोमा स्वस्थ रहन के खाने ?

सफल खबर संवाददाता

शनिबार, १६ पुस २०७९, १२ : २९
जाडोमा स्वस्थ रहन के खाने ?

एजेन्सी । जाडो मौसममा फ्लु, चिसो र अन्य संक्रमणको जोखिमबाट बच्नका लागि खानपानले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । चिसोमा सामान्यतया शारीरिक क्रियाकलाप पनि कम हुने हुँदा पनि स्वास्थ्य समस्याहरू निम्तिरहेका हुन्छन् । महामारीको समयमा शरीरमा प्राकृतिक प्रतिरोधी क्षमता बलियो राख्न र स्वस्थ रहनका लागिसमेत दैनिक खानपानमा ध्यान दिनुपर्ने हुन्छ । 

भिटामिन सीयुक्त खाद्यपदार्थ

भिटामिन सी एन्टिअक्सिडेन्टयुक्त खाना हो, जसल शरीरमा प्रतिरक्षा प्रणाली बलियो बनाउन मद्दत गरिरहेको हुन्छ । जाडो मौसममा एन्टिअक्सिडेन्टयुक्त खाद्य पदार्थ खानामा समावेश गर्नु निकै आवश्यक हुन्छ । यो समयमा सुन्तला, निम्बु, किबि, पालुंगोको साग आदि जस्ता खाद्य पदार्थ समावेश गर्न सकिन्छ ।  

प्रोटिनको खपत बढाउने 

शरीरमा क्यालोरी खपत गर्नका लागि प्रोटिन मुख्य माध्यमहरू हुन् । सामान्यतया चिसोका कारण दैनिक गतिविधिहरूमा कम सक्रिय भइने हुँदा शरीरमा क्यालोरी सजिलै खपत हुँदैन । चिसोबाट बच्नका लागि अत्यधिक खानेकुराहरू खाइने हुँदा शरीरलाई आवश्यकभन्दा बढी क्यालोरी हुन्छ, क्यालोरी सन्तुलनमा ल्याउनका लागि प्रोटिनयुक्त खाना उत्तिकै आवश्यक हुन्छ । प्रोटिनयुक्त खाद्यपदार्थको सेवनले भोक कम लाग्छ, जसले गर्दा खाना कम खाइने भएकाले क्यालोरी नियन्त्रणमा आउँछ । 

तातो खानेकुराको सेवन

दैनिक प्रयोगमा ल्याइने खानाले शरीरको तापक्रममा प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । जाडोमा तातो खानाको सेवनले न्यायो अनुभव गराउँछ, जसले शरीरको तापक्रम घट्नबाट रोक्ने गर्छ । शरीरमा ऊर्जा बढाउनका लागिसमेत तातो खानेकुुरा सेवन गर्न सकिन्छ ।

अत्यधिक खाना

चिसो छल्नका लागि काममा बढी सक्रिय नहुने हुँदा सामान्यतया अल्छीपना निम्त्याउने गर्छ । योसँगै कमजोरीपन महसुस हुने हुँदा अत्यधिक खाना खान मन लाग्ने हुन्छ, जसले गर्दा अस्वस्थ जीवनशैली विकसित हुँदै जान्छ । आवश्यकभन्दा बढी खानाले तौल बढ्ने सम्भावना पनि बढेर जान्छ । 

पानी

चिसोका कारण अधिकांशले पानी एकदमै कम प्रयोगमा ल्याउँछन् । जसले गर्दा छाला सुक्खा हुने, पिसाबमा समस्या आउने, मिर्गौलामा पत्थरी हुने जस्ता समस्या निम्तिरहेका हुन्छन् । शरीरमा पानीको कमीबाट हुन सक्ने जोखिमबाट बच्नका लागि दैनिक कम्तीमा ६ गिलास पानी आवश्यक हुन्छ । 

फलफूल र तरकारी

नियमित खानामा फलफूल र तरकारी समावेश गर्नु आवश्यक हुन्छ । शररिलाई चाहिने आवश्यक तत्व फलफूल र तरकारीबाट पूर्ति हुने भएकाले चिसो मौसममा स्वस्थ खानपान अझ धेरै आवश्यक हुन्छन् । अत्यधिक चिसो, मसाला, प्रशोधित खाना, स्याचुरेटेड फुडको सट्टामा फलफूल र तरकारी खान आवश्यक हुन्छ । यसले प्रतिरोधी क्षमता बढाउनका साथै क्यालोरी खपत हुने भएकाले तौल सन्तुलनमा राख्न सकिन्छ । 
( एजेन्सीको सहयोगमा )

प्रतिक्रिया दिनुहोस