युनाइटेड र चेल्सी विजयी

एजेन्सी

बुधबार, १३ पुस २०७९, ०८ : २९
युनाइटेड र चेल्सी विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले आ(आफ्नो खेलमा जित निकालेका छन्। जारी सिजन दुवै क्लब खराब प्रदर्शनबाट गुज्रिरहेका छन्। मंगलबार भएको खेलमा युनाइटेडले नोटिङ्घम फरेस्टलाई ३-० ले पराजित गर्‍यो। त्यस्तै, चेल्सीले बोर्नमाउथमाथि २-० को जित निकाल्यो।

युनाइटेडलाई जित दिलाउन युवा स्टार मार्कुस रासफोर्डले १ गोल गर्दा अर्को एक गोलका लागि असिस्ट गरेका थिए। युनाइटेडलाई अग्रता दिलाउने क्रममा रासफोर्डले १९ औँ मिनेटमा एरिक्सनको पासलाई सदुपयोग गर्दै पहिलो गोल गरेका थिए।

रासफोर्डले ३ मिनेट पछि नै दिएको पासलाई एन्टोनी मार्टियलले सदुपयोग गर्दा युनाइटेडले खेलमा २-० को अग्रता बनाएको थियो। युनाइटेडले तेस्रो गोल ८७ औँ मिनेटमा गरेको थियो। क्यासिमेरोको पासलाई फ्रेडले सदुपयोग गरेका थिए। चेल्सीले भने प्रिमियर लिगमा ५ खेलपछि पहिलो जित निकाल्न सफल भयो। चेल्सीको घरेलु मैदान स्टामफोर्डब्रिजमा भएको खेलमा उसले पहिलो हाफमा गरेको दुई गोल नै निर्णायक बन्यो।

चेल्सीलाई अग्रता दिलाउने क्रममा काई हावर्टजले १६ औँ मिनेटमा रहिम स्ट्रलिङको पासलाई सदुपयोग गर्दै पहिलो गोल गर्दा दोस्रो गोल हावर्जकै पासमा मेसन माउन्टले २४ औँ मिनेटमा सम्भव बनाएका थिए। त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन्।

जितपछि चेल्सी १५ खेलबाट २४ अङ्कका साथ ८ औँ स्थानमा उक्लिँदा म्यानचेस्टर युनाइटेडले १५ खेलबाट २९ अङ्क बनाएको छ। युनाइटेड पाँचौ स्थानमा रहेको छ। प्रिमियर लिगमा आर्सनल ४० अङ्कका साथ शीर्ष स्थानमा रहँदा न्युक्यासल ३३ अङ्कका साथ दोस्रो र ३२ अङ्कका साथ सिटी तेस्रो स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस