नेपथ्यलाई सुर्खेतमा भव्य स्वागत

सफल खबर संवाददाता

शुक्रबार, ०८ पुस २०७९, ११ : ३२
नेपथ्यलाई सुर्खेतमा भव्य स्वागत

काठमाडौं । तराईका फाँटहरूबाट उक्लेर थोरै माथि कर्णाली प्रदेश आइपुगेको नेपथ्यलाई वीरेन्द्रनगर सुर्खेतका बासिन्दाले ठूलो उपस्थितिका साथ भव्य स्वागत गरेका छन् । ‘मानवताका लागि संगीत’ अभियानका साथ मुलुकको यात्रामा निस्केको लोक रक ब्याण्ड नेपथ्यले श्रृंखलाको सातौं प्रस्तुति सुर्खेतमा गरेको छ । 

साँझ ६ बजे सुरु भएको कन्सर्टमा नेपथ्यले उपस्थित दर्शकलाई ‘आँगनै भरि’ बोलको गीतबाट स्वागत गर्यो । यो गीत नेपथ्यको आफ्नै इतिहासमा पनि पहिलो रचना थियो । स्थापनाकालीन गीत प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिरहरु देखाइएको थियो । गीत अघि बढ्दै जाँदा ब्याण्डले बितेका ३३ वर्षमा गरेको यात्राका झलक आउने गरी दृश्यहरूको संयोजन गरिएको थियो ।

पहिलो गीतमा साथसाथै गाएर सघाएका दर्शकहरुले त्यसपछि अर्को सर्वकालीक हिट गीत ‘भेडाको ऊनजस्तो’ प्रस्तुत गर्दा उफ्रन सुरु गरेका दर्शक ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाउँदा पसिनाले भरिएका थिए ।  ‘हामीलाई सुन्न यहाँ उपस्थित हुनुभएका तपाई सबै जनालाई स्वागत छ,’ अमृतले त्यसपछि गीतको साटो संवादको थालनी गरे, ‘हामी बीच यसरी भेटघाटको जोग जुराइदिने आयोजक मानवसेवा आश्रमलाई धेरै धेरै धन्यवाद छ है ।’

कर्णाली प्रदेशको राजधानी यो शहरमा नेपथ्य १५ वर्षपछि प्रस्तुत भएको हो । यसअघि ‘शान्तिको लागि शिक्षा’ अभियान लिएर ब्याण्ड सुर्खेत पुगेको थियो । त्यतिबेला भने नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा कन्सर्ट आयोजित थियो ।

खुलामञ्चमा दर्शकको लागि भनेर लगाइएको घेराभित्र नअटेर बाहिर बाहिर पनि दर्शक देखिन थालेका थिए । व्यापक उपस्थितिले सम्पूर्ण माहोल सुरुदेखि उत्साहपूर्ण बनेको थियो । कार्यक्रममा नेपथ्यले ‘खान्न म त लामपाते सुरती, लाउँ कि नलाउँ जुग जाने पिरती’, ‘चरि मर्यो’ र ‘जोमसोमे बजारमा’ गायो । ‘शिरफूल शिरैमा वनफूल वनैमा, हिउँको फूल धौलागिरिमा’, ‘नैनाताल’, ‘यो जिन्दगानी’ लगायतका गीत समेत नेपथ्यले सुनाएको थियो । सधैँजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’, ‘तालको पानी’ र ‘रातो र चन्द्रसूर्जे’ बाट कार्यक्रमको बिट मारेको थियो ।

संगीतका साथै मानवता प्रवद्र्धनका लागि नेपथ्यको यो कन्सर्टले वीरेन्द्रनगर सुर्खेतमा लगातार सातौं सफलता पाएकोमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुशी व्यक्त गरे । ‘सुर्खेतमा दर्शक प्रतिक्रिया कस्तो रहला भनेर जिज्ञासा लागेको थियो,’ उनले भने, ‘ठूला सहरभन्दा बढी दर्शक उपस्थित भएर मानवताको यो प्रयासलाई हौसला प्रदान गरिदिनुभएकामा धन्यवाद दिन चाहन्छु ।’

कन्सर्टबाट उठेको रकमले सुर्खेतमा मानवसेवा आश्रमको आफ्नै भवन निर्माणमा लगानी गरिने अध्यक्ष अधिकारीले बताए ।  हाल सुर्खेतस्थित आश्रमको संरक्षणमा घरपरिवार गुमाएका ४२ पुरुष, २९ महिला र ४ जना केटाकेटी गरेर ७५ जना रहेका छन् । 

सुर्खेतको कन्सर्ट सम्पन्न भएपछि नेपथ्य टोली पाँचवटा ट्रक बुटवलतर्फ प्रस्थान गरेको छ । मानव सेवा आश्रमकै आयोजनामा त्यहाँस्थित ‘रामनगर खेलमैदान’ मा नेपथ्य पुस ९ गते शनिबार प्रस्तुत हुँदैछ । 

प्रतिक्रिया दिनुहोस