दाङमा चार महिनामा दुई सय उद्योग थपिए

सफल खबर संवाददाता

शनिबार, १७ मंसिर २०७९, २० : १२
दाङमा चार महिनामा दुई सय उद्योग थपिए

दाङ। दाङमा आर्थिक वर्षको पहिलो चौमासिक सम्ममा दुई सय ९५ नयाँ साना तथा घरेलु उद्योग थपिएका छन् । जसमा रु ६१ करोड २४ लाख ३१ हजार पूँजी लगानी गरिएको छ । प्राइभेट फर्म दुई सय ७९, साझेदारी ११ र पाँचवटा प्रालि रहेको घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत विक्रम केसीले जानकारी दिए ।

यसरी दर्ता भएका उद्योगमध्ये उत्पादनमूलक २७, सेवामूलक ५५, कृषि तथा वनजन्य एक सय ८३ र पर्यटनसम्बन्धी ३० रहेका उनको भनाइ छ । यसरी दर्ता भएका घरेलु तथा साना उद्योगमा महिला एक सय ६० र पुरुष एक सय ५८ उद्यमी थपिएका छन् ।

जसमा महिला चार सय चार र पुरुष छ सय ७४ जनाले रोजगारी प्राप्त गरेका छन् । चार महिनामा तीन सय २७ वटाको नवीकरण गरिएको छ । अन्य संशोधन १ सय ६८ वटा छन् । कतिपयले अनुदान पाउन तथा सहुलियतमा ऋण लिन मात्रै पनि उद्योग दर्ता गर्ने पाइएको छ ।

यसैले उद्योग दर्ताको सङ्ख्या धेरै देखिने गरेको छ । कार्यालयले उद्योगतर्फबाट पहिलो चौमासिकसम्ममा २७ लाख सात हजार राजस्व सङ्कलन गरेको केसीले बताए । जिल्लामा कात्तिक मसान्तसम्म घरेलु तथा साना उद्योग गरेर ११ हजार एक सय ५२ वटा उद्योग रहेका छन् ।

कार्यालयमा वाणिज्यतर्फ चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म तीन सय ६० वटा फर्म दर्ता भएका छन् भने यसै अवधिमा ७२ वटा बन्द भएका छन् । चार महिनामा तीन सय ३२ वटा फर्म नवीकरण भएका छन् ।

त्यसैगरी एक सय ९४ वटा अन्य संशोधन गरेका छन् । वाणिज्यतर्फ चार महिनामा कार्यालयले रु ३५ लाख सात हजार राजस्व सङ्कलन गरेको अधिकृत केसीले बताए । विसं २०६३ वैशाखदेखि २०७९ कात्तिक मसान्तसम्ममा जिल्लामा १२ हजार छ सय ९६ वटा वाणिज्य फर्म दर्ता भएका छन् ।

पाँच लाखभन्दा कम पूँजी रहेका उद्योग तथा वाणिज्य फर्महरू स्थानीय तहमा दर्ता हुने गरेको अधिकृत केसीले बताए । यसै कारणले पनि सङ्ख्या कम देखिएको उनको भनाइ छ ।

जिल्लामा चालू आर्थिक वर्ष २०७९-८० को पहिलो चौमासिकसम्म ८१ साना तथा घरेलु उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत केसीले जानकारी दिए । यसै अवधिमा वाणिज्यतर्फका ७२ वटा व्यवसाय बन्द भएका छन् । 

प्रतिक्रिया दिनुहोस