हाम्रो पात्रो रेमिटको १ वर्ष पूरा, पहिलो वर्षमै १ अर्ब ५० करोड रेमिट्यान्स भित्रियो

सफल खबर संवाददाता

शुक्रबार, १६ मंसिर २०७९, १२ : ३५
हाम्रो पात्रो रेमिटको १ वर्ष पूरा, पहिलो वर्षमै १ अर्ब ५० करोड रेमिट्यान्स भित्रियो

काठमाडौं ।  नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले सञ्चालनमा ल्याएको “हाम्रो पात्रो रेमिट” को १ वर्ष पूरा भएको छ । सञ्चालनको एक वर्षमै हाम्रो पात्रो रेमिट मार्फत १ अर्ब ५० कराेड रुपैयाँ नेपाल भित्रिएकाे छ । हाम्रो पात्रो रेमिटबाट नेपाल पैसा पठाउन सहज र सरल भएका कारण पहिलो वर्षमै उत्साहजनकरुपमा रेमिट्यान्स नेपाल भित्रिएको रेमिटकी सीईओ सुदिना गौतमको भनाइ छ ।

उनका अनुसार शुरुवातको पहिलो वर्षमै १ अर्ब ५० करोडको ठूलो आंकडा पार गरेको हुँदा हाम्रो पात्रो रेमिटका टिम उत्साहित छ। पछिल्लो ३ महिनामा रु. ५० कराेड रेमिट्यान्स भित्र्याएकाे हाम्राे पात्राे रेमिटले गत महिनामा मात्रै रु.२० कराेड रेमिट्यान्स भित्र्याएको थियो । पछिल्लो महिनाहरूमा भएको उल्लेख्य वृद्धि देख्दा अबका केही महिनाहरूमा यो रकम अझ बढ्ने अनुमान गर्न सकिन्छ । अहिले अमेरिकामा मात्र सुरु भएको हाम्रो पात्रो रेमिटबाट स्वदेश पैसा पठाउँदा तुलनात्मक रुपमा अन्य रेमिटहरूभन्दा धेरै रेटमा पैसा पठाउन सकिन्छ ।

“अष्ट्रेलिया, जापान लगायतका देशहरूमा यो सेवा कहिलेबाट शुरु हुँदैछ भनेर धेरै प्रयोगकर्ताहरूको जिज्ञासा छ । हामी विस्तारै नै अन्य देशहरू पनि समेट्दै लानेछौं । अब अमेरिकापछि अष्ट्रेलियामा भने यो सेवा छिट्टै शुरु हुँदैछ । अष्ट्रेलियाका प्रयोगकर्ताहरूलाई यो खबर सुनाउन उत्साहित छौं” सीईओ गौतमले भनिन् । त्यसबाहेक, हाम्रो पात्रो रेमिटमा हालैमात्र थपिएको इन्स्ट्यान्ट पे सुविधा प्रयोगकर्ताहरूको लागि प्रमुख आकर्षण बनिरहेको छ । यो सुविधा अन्तर्गत प्रयाेगकर्ताहरूले नेपालमा पठाएकाे पैसा आफन्त तथा साथीभाइहरूले आफ्नै बैंक खातामा २४ घण्टा भित्र नै पाउन सक्नेछन् । यसैगरी हाम्रो पात्रोले अब छिट्टै सार्वजनिक गर्न लागेको “हाम्रो पे” डिजिटल वालेट आएपछि प्रयोगकर्ताहरूले विदेशबाट स्वदेशमा भएको आफन्तको हाम्रो पे खातामा तुरुन्तै पैसा पठाउने मिल्नेछ । अहिले डिजिटल वालेट “हाम्रो पे” भने सार्वजनिक हुने अन्तिम चरणमा रहेको हाम्राे पात्रोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस