सुकुम्बासी वस्तीमा भएको झडपका घाइते नगरप्रहरीको नर्भिकद्वारा निःशुल्क उपचार

सफल खबर संवाददाता

मंगलबार, १३ मंसिर २०७९, १४ : ०६
सुकुम्बासी वस्तीमा भएको झडपका घाइते नगरप्रहरीको नर्भिकद्वारा निःशुल्क उपचार

काठमाडौं । थापाथलीका सुकुम्बासी र काठमाडौँ महानगरपालिकाका नगर प्रहरीबीचको झडपमा घाइते सबै जनाको नर्भिक इन्टरनेशनल हस्पिटलले निःशुल्क उपचार गरेको छ । 

सोमबार थापाथलीस्थित सुकुम्बासी वस्तीका अवैध संरचना भत्काउन डोजरसहित पुगेको महानगरका प्रहरीहरुको टोलीसँग सुकम्बासीको झडप भएको थियो । सो क्रममा महानगरका ३४ नगर प्रहरीसहित ३६ जना घाइते भएका थिए । 

घाइतेहरुलाई तत्कालै थापाथलीस्थित नर्भिक अस्पतालको इमेरजेन्सीमा ल्याइएको थियो । अस्पतालले आफ्नो इमेरजेन्सीमा आएका नगरप्रहरीसहित सबै घाइतेको निःशुल्क उपचार गरिदिएको हो । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले सुकुम्बासी बस्तीमा भएको झडपमा परी घाइते काठमाडौँ महानगरका नगरप्रहरीसहित सबैको इमरजेन्सीमा व्यवस्थित ढंगले उपचार गरिएको र त्यहाँ सबैको उपचार निःशुल्क गरिएको जानकारी दिए । 

झडपमा घाइतेमध्ये उपचारपछि ३३ जना सोमबार साँझ नै घर फर्किएका थिए । गम्भीर घाइते तीन नगर प्रहरीको भने अहिले समेत नर्भिकमै उपचार जारी राखिएको छ ।  सीईओ मिश्रकाअनुसार नर्भिकले ३६ जना घाइतेहरुको ३ घण्टाभित्रमा उपचार सकेको थियो । घटनापछि राति मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल घाइतेहरुको अवस्था बुझ्न नर्भिक अस्पताल आएका थिए ।

प्रतिक्रिया दिनुहोस