अरबौँको खरिद तमाम गर्ने नेपाल टेलिकमको खेल जारी

सफल खबर संवाददाता

आइतबार, ११ मंसिर २०७९, १५ : ११
अरबौँको खरिद तमाम गर्ने नेपाल टेलिकमको खेल जारी

काठमाडौं । नेपाल टेलिकममा अरबौँको खरिद तमाम गर्ने खेल जारी छ । कम्तिमा नयाँ सरकार बन्नुअघि सबै काम सकाउने रोडम्यापबमोजिम झण्डै १७ मिलियन अर्थात् १ करोड ७० लाख अमेरिकी डलर बराबरको ठेक्का गुपचुप मिलाउने प्रपञ्च रचिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयस्थित उच्चस्तरीय कर्मचारी श्रोतको दावी छ । 

आरआरयु मोडर्नाइजेसन अर्थात रिमोट रेडियो युनिट परियोजना नाम दिइएको उक्त खेलोफड्कोमा २ अर्ब ३० करोड नेपाली रुपैयाँको बजेट बनाइएको छ । १७ मिलियन अमेरिकी डलरको परियोजना टेलिकम र विदेशी कम्पनीबीच सामान्य सहमतिमा गर्न लागिएको हो । 

 शुक्रबार बसेको टेलिकम बोर्ड बैठकमा त्यससम्बन्धी प्रस्ताव पेश भएको छ । टेलिकमभित्रका धेरैजसो हाकिम रुष्ट हुँदाहुँदै आज र ढिलोमा भोलिसम्म उक्त निर्णय गराउने तयारी छ । सोही कार्य फत्ये गर्नलाई आज साँझ टेलिकमको अर्को बोर्ड बैठक बोलाइएको स्रोतको दाबी छ ।

‘आज साँझको बोर्डमा पुनः सोही विषयमा छलफल हुँदैछ,’ स्रोतले भन्यो, ‘१७ मिलियन अमेरिकी डलर लागत देखाइएको छ । जबकि टेलिकमले अगाडि सारेको आरआरयु मोडर्नाइजेसन परियोजना २० देखि ३० लाख अर्थात दुईदेखि तीन मिलियन अमेरिकी डलरमा सम्पन्न हुन्छ । दुईदेखि तीन मिलियनको सामानलाई १७ मिलियन बनाएर बूढानीलकण्ठको चुनाव खर्च उठाउने र अन्य पात्रलाई गच्छेअनुसार भाग पुर्याउने खेल खेल्न थालिएको छ ।’

प्रतिक्रिया दिनुहोस