विश्वकप फुटबलमा आज तीन खेल हुँदै

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, १२ : ५४
विश्वकप फुटबलमा आज तीन खेल हुँदै

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछ ।कतार विश्वकप फुटबलमा समूह ‘ए’ अन्तर्गत एक खेल हुनेछ भने समूह बीमा दुई खेल हुँदैछ । पहिलो खेल समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ ।

उक्त खेल बेलुका ६ः४५ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रने छन् ।त्यसैगरी समूह ‘बी’अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । अमेरिका र वेल्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । त्यस्तै समूह ‘ए’ मा रहेका सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुनेछ ।

उक्त खेल राति ९ः४५ बजे सुरु हुनेछ । विश्वकपमा विभिन्न ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । यस विश्वकपमा कूल ६४ खेल हुनेछ । प्रत्येक समूहका शीर्ष दुई टोली नकआउट चरणमा पुग्नेछन् ।

फिफा विश्वकप फुटबल प्रतियोगिताको आइतबारको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।

कतारको अल बेयत रङ्गशालामा आइतबार राति सम्पन्न खेलमा इक्वेडरले कतारलाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो ।

इक्वेडरको जितमा एनर भ्यालेन्सिया नायक बने । उनले खेलको १७ औँ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गर्दै खाता खोले ।गोलरक्षक साद अलसिबले पेनाल्टी क्षेत्रभित्र लडाएपछि इक्वेडरले पेनाल्टी प्राप्त गरेको थियो । जसलाई एनरले गोल गर्न सफल भए ।

त्यस्तै खेलका ३१ औँ मिनेटमा एनरले व्यक्तिगत दोस्रो गोल गर्दा इक्वेडरको जित सुनिश्चत भयो । उनले एन्जेलो प्रेसियाडोको क्रस बललाई सदुपयोग गर्दै गोल गरे ।

यसपछि थप गोल हुन नसकेपछि खेल इक्वेडरले कतारमाथि २–० को सहज जित हात पारयो । यस खेलसँगै इक्वेडरले शीर्ष तीन अङ्क जोडेको छ ।

प्रतिक्रिया दिनुहोस