महिला कर्मचारीलाई मतदान केन्द्रको जिम्मा

सफल खबर संवाददाता

शुक्रबार, ०२ मंसिर २०७९, ०८ : २७
महिला कर्मचारीलाई मतदान केन्द्रको जिम्मा

फाईल तस्वीर

काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एउटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ ।

नवलपुरमा रहेका एक सय १३ मतदानस्थलका तीन सय दुई मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको हो । नवलपुरको कावासोती नगरपालिका–२ मा रहेको शिव मावि शिवबस्तीको एउटा मतदान केन्द्रमा महिला कर्मचारीमात्रै खटाइएको जिल्ला निर्वाचन कार्यालय नवलपरासीपूर्वका प्रमुख लालप्रसाद शर्मा भुसालले बताए ।

प्रमुख भुसालका अनुसार शिव माविमा रहेको मतदानस्थलको ‘ङ’ केन्द्रलाई महिलामैत्री बनाइएको छ । मतदान अधिकृत शान्ति गुरुङको नेतृत्वमा आठ कर्मचारी सबै महिलामात्रै रहेको उनले बताए । नवलपुरमा रहेका तीन सय दुई मतदान केन्द्रमा दुई हजार चार सय १६ कर्मचारी खटिएका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत रामग्राम नगरपालिका–१ मा दुईवटा मतदान केन्द्र रहेको एउटा मतदानस्थल र रामग्राम नगरपालिका–१ मा रहेको  सयपत्री बोर्डिङ स्कुलस्थित मतदानस्थलमा मतदान अधिकृतसहित सम्पूर्ण कर्मचारी महिलामात्रै खटाइएको छ ।

मतदानस्थलमा खटिने कर्मचारीसहित सुरक्षाकर्मीसमेत यस मतदानस्थलमा सबै महिला खटाइएको छ । मतदानस्थलमा १६ महिला कर्मचारी खटिएका छन् । साथै नेपाल प्रहरी र म्यादी प्रहरी गरी १३ सुरक्षाकर्मी खटाइएकामा सबै सुरक्षाकर्मी महिला छन् ।