नेपाली टेलिभिजनले विश्वकप फुटबलको लाइभ देखाउन पाउने

सफल खबर संवाददाता

बुधबार, ३० कार्तिक २०७९, १६ : ४६
नेपाली टेलिभिजनले विश्वकप फुटबलको लाइभ देखाउन पाउने

काठमाडौं । पाँच दिनपछि सुरु हुने फिफा विश्वकप फुटवल नेपालमा प्रत्यक्ष प्रसारण हुने नहुने बिषयको अन्योल सर्वोच्च अदालतले अन्त्य गरिदिएको छ । बुधबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल इजलासले दिएको अन्तरिम खारेज गरेको हो । यससँगै नेपाली टेलिभिजनले दर्शकसँग अतिरिक्त शुल्क लिएर फुटबल लाइभ देखाउन पाउने भएका छन् ।

बिश्वकप फुटवल निःशुल्क देखाउनुपर्ने जिकिर गर्दै दुई अधिवक्ताले दायर गरेको निवेदनमा न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले २२ कात्तिकमा विश्वकपको तयारीलाई यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

नेपालमा विश्वकप प्रसारणका लागि मिडिया हबले शुल्क बुझाएर फिफाबाट अनुमति पाएको थियो । आफूले तिरेको रकमको केही अंश दर्शकबाट उठाउने भन्दै उसले लाइभ हेर्नका लागि निश्चित शुल्क तोक्ने तयारी गरेको थियो । तर लाइभ प्रशारणको अन्तिम तयारी भइरहेका बेला सर्वोच्चको आदेशले तयारी अवरुद्ध हुन भए पनि अब तीब्र गतिले तयारी गर्ने मिडिया हबका कार्यकारी निर्देशक सोम धितालले बताए ।

‘अदालतको आदेशको सम्मान गर्दै हामीले सवै तयारी रोकका थियौं, तर अब कानुनी बाटो खुला भएको छ’ धितालले भने, ‘प्राविधिक र अन्य तयारीका लागि समय निकै अपुग छ तर पनि रातदिन गरेरै भए पनि प्रसारणको तयारीमा लाग्छौं ।’

प्रतिक्रिया दिनुहोस