सत्तारुढ दलहरु नवसामन्तवादका प्रेतात्मा : प्रकाशचन्द्र लोहनी

सफल खबर संवाददाता

शुक्रबार, २५ कार्तिक २०७९, २० : २०
सत्तारुढ दलहरु नवसामन्तवादका प्रेतात्मा : प्रकाशचन्द्र लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्तामा रहेका दलहरुलाई नवसामन्तवादका प्रेतात्माको संज्ञा दिएका छन् । शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वअध्यक्ष लोहनीले सत्तारुढ दलहरुलाई नवसामन्तवादको प्रेतात्माको संज्ञा दिएका हुन् ।

उनले सत्तारुढ पार्टीहरुले खाने काम गरिरहेको भन्दै भ्रष्टाचारको दुर्गन्ध देशभर फैलिएको बताए । उनले नेपालबाट सामन्तवाद सकिएको भएपनि नवसामन्तवादको उदय भएको बताए । विगतमा सामन्तवाद जमिनको कुत आएर बाँचेको उल्लेख गर्दै उनले नवसामन्तवाद भने विकासको लागि आएको रकमको कुत खाएर बाँचेको टिप्पणी गरे ।

उनले देशको स्थिति लथालिङ्ग भएकाले सो स्थितिलाई बदल्न परिवर्तन आवश्यक रहेको बताए । डा. लोहनीले देशमा यही स्थिति रहिरहे अराजकता र अशान्ति बढेर जाने बताए । उनले भने, ‘अहिले लथालिङ्ग देशको भत्ताभुंग चाला, जुन पार्टीले सक्ला त्यही पार्टीले खाला भएको छ । सत्तामा बसेका जति पार्टी छन् उनीहरुले खाने काम गरेका छन् अहिले । अग्रगामीहरुले भ्रष्टाचार गर्दा त्यसको दुर्गन्ध देशव्यापी भएको छ अहिले । यि नवसामन्तवादका प्रेतात्माहरु जहाँतहीँ देखिन लागेका छन् । नवसामन्तवादका प्रेतात्मा हुन् उनीहरु ।’

उनले थप भनेका छन्, ‘सामन्तवाद नेपालबाट गइसक्यो । तर सामन्तवादमा जमिनको कुत खान्थे सामन्तहरुले । जमिनको कुतबाट बाँचेका थिए । अहिलेका नवसामन्तहरु तपाईको विश्वास लिएर, तपाईको मत लिएर नवसामन्तहरुले विकासको लागि आएको रकमको कुत खाएर बसिरहेका छन् । बढीभन्दा बढी कुत खाएर बसिरहेका छन् । त्यसैले यो स्थितिलाई बदल्नको लागि अब परिवर्तन आवश्यक छ । शान्तिपूर्ण परिवर्तन भएन भने इतिहासले कसैलाई छोड्दैन । अग्रगामीहरुको दुर्गन्धले यही तरिकाले देश बिग्रेर जाने हो भने नवसामन्तवादको क्रियाकलापले देश यसैगरी बिग्रेर जाने हो भने यो देशमा अशान्ति हुन्छ । अराजकता बढेर जान्छ ।’

डा. लोहनीले जनताले सत्तारुढ दलहरुलाई गरेको विश्वासको दुरुपयोग भएको बताए । उनले सत्ता र शक्तिको दुरुपयोग नगर्न खबरदारी गर्दा आफूहरुलाई पश्चगामीको ट्याग लगाइएको बताए । उनले संविधानको उल्लंघन गर्नु र भ्रष्टाचार गर्नु अग्रगमन हो ? भन्ने प्रश्न समेत गरे । उनले राज्यको हरेक निकायमा भागबन्डा गरेर नियुक्ति दिने र भ्रष्टाचार गर्ने प्रवृत्ति रहेको बताए ।

प्रतिक्रिया दिनुहोस