टि-२० विश्वकप क्रिकेटमा नेदरल्यान्डसकाे पहिलो जित

सफल खबर संवाददाता

बुधबार, १६ कार्तिक २०७९, १९ : २३
टि-२० विश्वकप क्रिकेटमा नेदरल्यान्डसकाे पहिलो जित

काठमाडाैं । आईसीसी टि–२० विश्वकप क्रिकेटमा नेदरल्यान्डसले पहिलो जित निकालेको छ ।अष्ट्रेलियाको एडिलेटमा आज बुधबार जिम्बावेलाई ५ विकेटले हराउँदै नेदरल्यान्डसले पहिलो जित निकालेको हो । जिम्बावेले दिएको १ सय १८ रनको लक्ष्य नेदरल्यान्डसले १७ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गरेकाे छ । नेदरल्यान्डसको जितमा म्याक्स ओडोडले ५२ रनको अर्धशतकीय इनिङ खेलेका छन् ।

त्यस्तै टम कुपरले ३२ रन बनाएका छन् । बास डी लिग १२ रनमा अविजित रहेका थिए । जिम्बावेका ब्लेसिङ मुजराबानी र रिचार्ड एनगा भाराले २-२ तथा लुक जोंग्वेले एक विकेट लिएका छन् । यस अघि पहिले ब्याटिङ गरेको जिम्बावेले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय १७ रन बनाएको थियो । जिम्बावेका लागि सिकन्दर राजाले ४० रन बनाएका हुन् । सिन विलियम्सले २८ रन जोडेका छन् । नेदरल्यान्डसका लागि पाउल भान मिइकीरेनले ३ विकेट लिएका छन् ।

त्यस्तै ब्राण्डन ग्लोभर, लोगान भान बिक र बास डी लिडले २-२ विकेट लिएका हुन् । यो जितसँगै समूह २ को नेदरल्यान्डसले ४ खेलमा २ अंक जोडेको छ । जिम्बावे ४ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ । आजैको अर्को खेलमा भारत र बंगलादेश खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस