विद्युतका पोलमा तानिएका तार ४५ दिनभित्रमा व्यवस्थापन नभए प्राधिकरण आफैंले हटाउने

सफल खबर संवाददाता

मंगलबार, १५ कार्तिक २०७९, १४ : ०८
विद्युतका पोलमा तानिएका तार ४५ दिनभित्रमा व्यवस्थापन नभए प्राधिकरण आफैंले हटाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका  केबल टेलिभिजन, इन्नटरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई ४५ दिनको समयसीमा दिएको छ ।

प्राधिकरणले मंगलबार सार्वजनिक सूचनामार्फत दूरसञ्चार, केवल टिभि तथा इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै सोही अनुसार व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई आग्रह गरेको छ ।

विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइवर, केबल पोलमा जथाभावी झुण्डयाइएका उपकरणहरुका कारण सहरलाई कुरुप वनाएको छ ।आगलागी लगायतका विद्युतीय दुर्घटनाहरु वढ्दै गएको र यसबाट प्राधिकरणले प्रवाह गरिरहेको विद्युतीय सेवामा समेत अवरोध उत्पन्न भएको छ ।

आगलागी लगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र सहरी सुन्दरता समेत कायम राख्न दूरसञ्चार, केबल टिभि र इन्टरनेट सेवा प्रदायकहरुलाई  आफ्नो संरचना  निर्माण÷व्यवस्थापन गर्न समयसीमा सहित सार्वजनिक रुपमा आग्रह गरिएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

‘तोकिएको समयमा व्यवस्थापन गर्ने÷नगराउने सेवा प्रदायकहरुको केबल लगायतका उपकरणहरु नेपाल विद्युत प्राधिकरण ऐन,२०४१ बमोजिम प्राधिकरण आफैले हटाउने र यसबाट हुन सक्ने नोक्सानीको लागि सम्बन्धित सेवा प्रदायक स्वयं नै जिम्मेवारी हुनु पर्ने छ,’उपकार्यकारी निर्देशक सिलवालले भने ।

प्राधिकरणले अप्टिकल फाइबर÷केबल र र विद्युत लाइन तथा भू–सतहबीचको न्यूनतम दूरी तोकेको छ । ४०० भोल्टको नाङ्गो तथा इन्सुलेटेड तार र  केबलबीचको न्यूनतम दूरी क्रमश ८०  र ३० सेन्टिमिटर हुनु पर्ने छ । ११ केभी र ३३ केभी लाइन र केबलबीचको न्यूनतम दूरी २ मिटर हुनु पर्ने छ ।  अन्य ४०० भोल्टका उपकरणरुसँगको न्यूनतम दूरी ७५ सेन्टिमिटर हुनुपर्ने छ । अप्टिकल फाइबर÷केबल र जमिन सतहबीच पैदलमार्गमा २।४ मिटर र सडकमा ५।५ मिटर तोकिएको छ । । न्यूनतम दूरी कायम कायम नगरी सर्भिस केबलमार्फत ग्राहकलाई कनेक्सन दिन रोक लगाइएको छ ।

राउटर, अप्टिकल फाइबर वितरण बक्स जस्ता उपकरणहरु पोलको एउटै मात्र भागमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान गरी र सफासँग क्लिप प्रयोग गरी वाइरिङ गर्नु पर्ने छ ।

प्रयोगमा नरहेका तार र अन्य उपकरणहरु तत्काल हटाउनु पर्ने छ ।  पोलहरुमा  लुप वनाएर राखिएका तार  तत्काल हटाउने र नयाँ तारहरु तान्दा समेत अतिरिक्त लम्वाइका लुप बनाएर पोलमा झुण्डाउन नपाउने व्यवस्था गरिएको छ ।

सेवा प्रदायकहरुले निजहरुको तार  सजिलोसँग छुट्टयाउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनु पर्ने छ । पोलमा जडित उपकरणहरुमा समेत मार्किङसमेत गर्नु पर्ने छ ।  

सम्भव भएसम्म धेरै कोर भएको केवल तानी बहुसंख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्नु पर्ने छ ।  तारहरुलाई सडक वारपार तान्न रोक लगाइएको छ भने तानिएका केवलहरु हटाउनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस