काठमाडौं । लामो समयदेखि मुलुकको समसामयिक भोगाइलाई सम्बोधन गर्ने नारा बोकेर साँगीतिक यात्रा गर्दैआएको नेपथ्यले अब फेरि नयाँ नारा र अठोटकासाथ आफूलाई एक महिना लामो देशब्यापी यात्रामा प्रस्तुत गर्नेभएको छ ।
आगामी मङ्सिर १६ गतेदेखि पुस १६ गतेसम्म नेपालको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म पुग्ने तयारीमा रहेको यो ब्याण्डले यसपालादेखि नयाँ अठोटका रूपमा ‘मानवता प्रवर्द्धन अभियान’ मा सहभागी हुँदैछ ।
‘मानवताको लागि संगीत’ कार्यक्रमको पहिलो प्रस्तुति विराटनगरमा हुनेछ । मङ्सिर १६ गते (डिसेम्बर २ तारिख) शुक्रबारका दिन त्यहाँस्थित ‘हाटखोला मैदान’मा नेपथ्य गुञ्जिनेछ । त्यसपछि ब्याण्ड वीरगन्ज प्रस्थान गर्नेछ । मङ्सिर १९ गते (डिसेम्बर ५ तारिख) वीरगन्जको ‘आदर्शनगर रंगशाला’मा ब्याण्ड प्रस्तुत हुनेछ । त्यसैगरि मङ्सिर २२ गतेका दिन (डिसेम्बर ८ तारिख) हेटौँडाको ‘भूटनदेवी स्कुल मैदान’मा लोक रक गीतहरू सुनाइनेछन् ।
हेटौंडा मानवसेवा आश्रमको मुख्य कार्यालय रहेको स्थान पनि हो । त्यहाँबाट विस्तारभएको यो संस्थाले मुलुकभर ७७ वटै जिल्लामा हाल आफ्नो सेवा परिचालन गरिरहेको छ ।
हेटौंडापछि २५ मंसिरका दिन (डिसेम्बर ११ तारिख) नारायणघाटको ‘क्याम्पाचौर’मा ब्याण्ड उपस्थित हुनेछ । मङ्सिर महिनाको अन्तिम शो भने नेपालगन्जमा २९ गतेका दिन (डिसेम्बर १५ तारिख) आयोजना गरिनेछ । त्यसपछि पुसको ३ गते (डिसेम्बर १८ तारिख) ब्याण्डले धनगढीको रंगशालामा आफूलाई प्रस्तुत गर्नेछ ।
त्यसपछि थोरै मास्तिर उक्लेर ब्याण्डले वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा पुस ६ गतेका दिन (डिसेम्बर २१ तारिख) कर्णाली प्रदेशका श्रोतालाई आफ्ना नयाँ तथा पुराना गीतहरू सुनाउनेछ । त्यसपछि फर्किएर बुटवल आइपुग्ने टोलीले त्यहाँस्थित ‘रामनगर खेलमैदान’मा तयार पारिने मञ्चमा आफूलाई पुस ९ गते (डिसेम्बर २४ तारिख) प्रस्तुत गर्नेछ ।
त्यसपछि नेपथ्य यात्राले ब्याण्डलाई उसको ‘होम ग्राउण्ड’मा प्रवेश गराउनेछ । पुसको १२ गते (डिसेम्बर २७ तारिख) मंगलबारका दिन ब्याण्डले पोखरा नयाँबजारस्थित ‘प्रदर्शनी केन्द्र’मा आफूलाई उभ्याउने भएको छ ।
यसरी मुलुकका सम्पूर्ण प्रदेशहरु घुमिसकेपछि अन्तिममा ब्याण्ड संघीय राजधानी काठमाडौं आइपुग्नेछ । काठमाडौंमा भने पुस १६ गते (डिसेम्बर ३१ तारिख) शनिबारका दिन भृकुटी मण्डपमा ब्याण्ड प्रस्तुत हुनेछ । नेपथ्यले यसभन्दा अघिल्लोपटक पनि काठमाडौंका श्रोता दर्शकसामु आफूलाई भृकुटी मण्डपमै उभ्याएको थियो ।
नेपथ्यको यो भ्रमणलाई ‘नेपालय’ले व्यवस्थापन गर्न लागेको हो । मुलुकभरका कन्सर्टहरुको आयोजक मानवसेवा आश्रमका स्थानीय तवरमा सक्रिय केन्द्रहरुले ती–ती स्थानमा यसलाई सघाउनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ कार्तिक २०७९, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका यात्रामा नेपथ्य, सियाटलमा पहिलोपटक प्रस्तुत
भव्य दर्शक सहभागितामा नेपथ्यको एडिलेड कन्सर्ट सम्पन्न
नेपथ्य अस्ट्रेलिया शृंखलाको भव्य सुरुवात क्यानबेराबाट
मेरिल्यान्डमा नेपथ्यसँगै झुमे दर्शक
नेपथ्य अमेरिका शृंखला–सानफ्रान्सिस्कोमा अमृत गुरुङले नचाए दर्शक