सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टी कार्यालय जस्तो भयो : राजु गुरुङ

सफल खबर संवाददाता

शनिबार, १२ कार्तिक २०७९, १९ : २८
सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टी कार्यालय जस्तो भयो : राजु गुरुङ

काठमाडौं । सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ । शनिबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो । यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङले उम्मेदवारी दिएका थिए ।

तर चेक बाउन्ससम्बन्धी मुद्दाका कारण उनको उम्मेदवारी खारेज भएपछि यो क्षेत्रमा सत्ता गठबन्धनको उम्मेदवार थिएन । पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का नेता राजु गुरुङले राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशवबहादुर थापालाई गठबन्धनले एकमतका साथ साझा उम्मेदवार स्वीकार गरेको बताए ।

उनले साझा उम्मेदवारलाई आगामी निर्वाचनमा जिताउन पनि मतदाताहरुसँग आग्रह गरे । उनेल भने, ‘प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ को सन्दर्भमा रुपन्देही जिल्लामा चुनावी तालमेलका लागि तय गरिएको गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीबीच भएको सहमतिका बुँदाहरु सार्वजनिक गर्नका लागि यो पत्रकार सम्मेलन आयोजना गरिएको हो ।’

उनले थपे, ‘राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार रहनुभएका राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशवबहादुर थापालाई गठबन्धनले एकमतका साथ साझा उम्मेदवार स्वीकार गरेको छ । त्यसलाई तदारुकताका साथ कार्यान्वयनमा लैजाने निर्णय भएको छ । रुपन्देही जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा १ र २ साथै क्षेत्र नम्बर ३ को प्रदेश सभा २ मा र रुपन्देही जिल्ला प्रतिनिधि सभा १,३,४ र ५ मा गठबन्धनका उम्मेदवारहरुलाई राष्ट्रिय जनमुक्ति पार्टीले समर्थन गरी सघाउने निर्णय भएको छ ।’

नेता गुरुङले आफ्नो उम्मेदवारी जालझेलपूर्ण र षड्यन्त्रपूर्वक ढंगबाट खारेज गरेको आरोप लगाए । उनले आफ्नो उम्मेदवारी खारेज हुनु भनेको नेकपा एमालेको पराजित मानसिकताको पराकाष्ठा भएको बताए । उनले आगामी निर्वाचनमा केशवबहादुर थापालाई जिताएर नेकपा एमालेको दादागिरी रोक्ने बताए । उनले सर्वोच्च अदालत र निर्वाचन आयोग एउटा पार्टीको पार्टी कार्यालय जस्तो बनेको आरोपसमेत लगाए । उनले आफू कालो सूचीमा नरहेको भन्दै कालो सूचीमा भए देखाउन चुनौती दिए ।

प्रतिक्रिया दिनुहोस