हाम्रो गठबन्धनलाई जिताएर ओलीजीलाई जवाफ दिनुहोस् : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

शनिबार, ०५ कार्तिक २०७९, १९ : ५०
हाम्रो गठबन्धनलाई जिताएर ओलीजीलाई जवाफ दिनुहोस् : प्रधानमन्त्री देउवा

विराटनगर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ मा सत्तारुढ गठबन्धनलाई जिताउन अपिल गरेका छन।

आज (शनिबार) विराटनगरमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी भेला कार्यक्रममा बोल्दै उहाँले गठबन्धनलाई जिाएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिनुपर्ने बताएका हुन् ।

गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले सबै वर्ग र क्षेत्रको अधिकार सुनिश्चित गर्ने समावेशी संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको प्रष्ट पारे । उनले जनताको बलिदानबाट प्राप्त संविधान रक्षा गर्न गठबन्धन बनेको समेत बताए ।

“ओलीजीले पनि राप्रपासँग गठबन्धन गर्नुभएको छ । उहाँले गठबन्धन गर्न हुने हामीले किन नहुने ?” देउवाले भने, “हाम्रो गठबन्धन चाहिँ संविधानको रक्षाका लागि हो । हामीलाई जिताएर ओलीजीलाई जवाफ दिनुहोस् ।”

प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने विश्वास व्यक्त गर्दै भन्नुभयो, “विकास र परिवर्तनका निम्ति यो गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ ।”

रुख, कलम र गोलाकार भित्रको हँसिया हथौडा चिह्नमा भोट हाल्न कार्यकर्तामा अन्योल आउन नहुने बताउँदै उहाँले गठबन्धनमा उम्मेदवारलाई अत्यधिक भोट हालेर जिताउन अपिल गरे।

प्रतिक्रिया दिनुहोस