विमानस्थलमा स्थानीयलाई रोजगारी दिन्छौं : गृहमन्त्री खाँण

सफल खबर संवाददाता

शनिबार, २९ असोज २०७९, २० : ३५
विमानस्थलमा स्थानीयलाई रोजगारी दिन्छौं : गृहमन्त्री खाँण

भैरहवा। गृहमन्त्री बालकृष्ण खाँणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी भर्ना गर्दा स्थानीयलाई प्राथमिकता दिइने बताएका छन्।

उनले विमानस्थलमा नयाँ रोजगारी खुल्दा र अन्य अवसरमाहरु समेत स्थानीयले प्राथमिकता पाउने भन्दै त्यसतर्फ आफूले पहल गर्ने जनाएका छन्।

रुपन्देही- ३ मा पाँच दलीय सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका गृहमन्त्री खाँणले शनिबार भैरहवामा आयोजित गठबन्धनको कार्यक्रममा बोल्दै स्थानीयले आफ्नो जग्गा उपलब्ध गराएपछि मात्र विमानस्थल निर्माण सम्पन्न भएकाले नयाँ रोजगारी खुल्दा स्थानीयलाई योग्यता अनुसारको रोजगारीमा प्राथमिकता पाउने बताए।

‘स्थानीयले जमिन नदिएको भए विमानस्थल बनाउन कठिन हुन्थ्यो, त्यसैले विमानस्थल निमार्णका लागि पुस्तौंदेखि बस्दै आएको जग्गा दिएर योगदान पुर्याएकाहरुले नै हरेक अवसरमा पहिलो प्राथमिकता पाउनुपर्छ,’, उनले भने, ‘स्थानीयले मुआब्जा लिएर भए पनि विमानस्थल बनाउन गरेको सहयोग सरकार र कसैले पनि बिर्सिनु हुँदैन।’

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गृहमन्त्री खाँणले विमानस्थल यस क्षेत्रको आर्थिक समृद्धिको ढोका खोलेको जनाउँदै यहाँ हुने हरेक गतिविधिसँग स्थानीयलाई जोडेर आत्मनिर्भर र रोजगार बनाउनु आफूहरुको पहिलो प्राथमिकता रहेको बताए।

अर्को प्रसंगमा उनले मुलुकका प्रधानमन्त्री, मन्त्री, प्रशासक, सुरक्षा निकाय जनाताका सेवक भएकाले सदैव जनताको सेवामा लाग्नुपर्ने बताए। खाँणले सरकारले हरेक नागरिकको सुरक्षाको ग्यारेन्टी सरकारले लिने जनाउँदै ढुक्क भएर मुलुकको विकासमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस