नवौं राष्ट्रिय खेलकुद : पुलिस र लुम्बिनीको जित

सफल खबर संवाददाता

बुधबार, २६ असोज २०७९, २० : ०२
नवौं राष्ट्रिय खेलकुद : पुलिस र लुम्बिनीको जित

काठमाडौं । सम्झना खड्काको अर्धशतकको सहयोगमा विभागीय टोली नेपाल पुलिस क्लब प्रदेश १ माथि एक सय १८ रनको फराकिलो जित निकाल्दै नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा क्रिकेट रंगशालामा सम्पन्न समूह ‘बी’ को खेलमा फराकिलो जित निकालेको पुलिसले अन्तिम चारमा स्थान बनाएको हो ।

समूह ‘बी’ को शीर्ष स्थानको पुलिसको दुई खेलमा चार अंक छ । दोस्रो स्थानको लुम्बिनी प्रदेश र तेस्रो स्थानको प्रदेश १ को समान एक अंक छ । चौथो स्थानको कर्णालीले तालिकामा अंक जोड्न सकेको छैन । पहिलो खेलमा कर्णाली पुलिससँग पराजित भएको थियो । लुम्बिनी र प्रदेश १ को खेल भने वर्षाका कारण सम्भव नभएपछि दुवै टोलीले अंक बाँडेका थिए । पुलिसले प्रस्तुत गरेको १ सय ५९ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ४० रन मात्र जोड्यो । प्रदेश १ की कप्तान सानु राजवंशी र ओपनर ललिता राजवंशीले समान ११ रन जोड्दा अन्य कुनै ब्याटरले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । पुलिसकी हिरनमई रायले तीन तथा कविता जोशी, सबनम राई र कविता कुँवरले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको पुलिसले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ५८ रनको पारी खेलेको थियो । जारी प्रतियोगिताको यो सर्वाधिक योगफल हो । पुलिसकी सम्झनाले ४३ बलमा १० चौकाको मद्दतमा ६० रन जोडिन् । ओपनर कविता कुँवरले ३७ तथा कप्तान रुबिना क्षेत्रीले अविजित १६ रन जोडिन् । प्रदेश १ की निशा शाहले एक विकेट लिइन् ।

प्रतियोगिता अन्तर्गत बुधवार नै सम्पन्न दोस्रो खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशमाथि १ सय ४ रनको फराकिलो जित निकाल्दै जारी प्रतियोगितामा पहिलो जित निकालेको छ । लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको कर्णालीले ८ ओभर ३ बलमा अलआउट हुँदै २३ रन मात्र जोड्न सक्यो । कर्णालीका लागि कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । किरण कुँवरले बनाएको ५ रन नै सर्वाधिक रन रह्यो । लुम्बिनीका लागि मधु डीसीले ४ तथा कृतिका मरासिनीले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाएर १ सय २७ रन जोडेको थियो । लुम्बिनीका ३१ तथा सरस्वती जीएमले ३० रन बनाउँदा सुस्मिता बजगाइले १२ तथा मधु डिसीले अविजित १२ रन बनाइन् । कर्णालीले ३८ रन अतिरिक्त खर्चिएको थियो । कर्णालीका लागि अञ्जु गुरुङले २ तथा एञ्जिला क्षेत्रीले १ विकेट लिए । जितसँगै लुम्बिनी ३ अंक जोड्दै समूह बी को दोस्रो स्थानमा कायमै रहेको छ । जित विहीन कर्णाली प्रदेश भने २ खेलमा अंक विहीन भइ पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस