अत्यधिक वर्षाले किसानलाई नोक्सानी

सफल खबर संवाददाता

बुधबार, २६ असोज २०७९, १० : ०८
अत्यधिक वर्षाले किसानलाई नोक्सानी

बागलुङ । अत्यधिक वर्षाले यहाँका किसानलाई नोक्सानी भएको छ । लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबाली हावाहुरीले ढलाएर तथा पानीले भिजाएर क्षति पुर्‍याएको छ । 

कृषि ज्ञान केन्द्र बागलुङका अनुसार बागलुङको केही धानबाली हुने स्थानमा धान ढलेको छ भने बाढीले कागती र किबीखेतीमा समेत क्षति पुर्‍याएको छ । यस वर्ष छ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए ।

'हामीले सबै पालिकामा लगातारको वर्षाले पु¥याएको क्षतिको विवरण सङ्कलन गर्न भनेका छौँ, कृषि मन्त्रालयले समेत क्षतिको विवरण पठाउन ताकेता गरेको छ' उनले भने, 'हालसम्म निसीखोलाको कागती र किबीखेतीमा क्षति पुर्‍याएको छ भने राम्रो धानबाली हुने क्षेत्रमा केही धान ढलेको पाइएको छ ।' 

निसीखोला गाउँपालिका–४ स्थित तुलसीराम रेग्मीको किबी फार्ममा बाढी पसेर क्षति पुर्‍याएको छ भने निसीखोलाकै रमिलाल क्षेत्रीको कागतीको बगैँचा बगाएको छ । जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, गलकोट नगरपालिका र बागलुङ नगरपालिकाका केही क्षेत्रमा धानबाली पानीले ढलाएको छ ।

अत्यधिक वर्षाका कारण धानबाली ढलेको कृषकले बताएका छन् । बागलुङको दक्षिणि क्षेत्र जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा लगातार परेको वर्षाका कारण हिउँदे बालीमा क्षति पुर्‍याएको छ । बाला पसाउन लागेको धान र कोदोबाली तथा तरकारी बालीमा नोक्सानी पुर्‍याएको जैमिनी–१० किटेनीका नरबहादुर छन्त्यालले बताए ।

बागलुङमा गत वर्ष पाँच हजार आठ सय ५० हेक्टर जमिनमा धानखेती गरिएको थियो भने यो वर्ष छ हजार हेक्टर जमिनमा धानखेती गरिएको छ ।