लाल मोहम्मद हत्या प्रकरण : एक महिलासहित तीनजना सार्वजनिक

सफल खबर संवाददाता

शुक्रबार, १४ असोज २०७९, १९ : ४६
लाल मोहम्मद हत्या प्रकरण : एक महिलासहित तीनजना सार्वजनिक

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ गोठाटारमा लाल मोहम्मदको गोली हानेर हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

काठमाडौं प्रहरी परिसरले हत्यामा संलग्न तीनजनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीय महोरम मियाँ, रेहान मियाँ र मकवानपुरको बकैया गाउँपालिका घर भई काठमाडौंको कपन बस्ने २१ वर्षीया सुस्मिता स्याङताङ छन् ।  

प्रहरीका अनुसार सुस्मिताले मोहम्मदका गतिविधि निगरानी गरेको र महोरम र रेहान मियाँले गोली हानेको  खुलेको छ ।असोज ३ गते सोमबार साँझ मोहम्मदकै घर अगाडिको बीच सडकमा गोली प्रहार भएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको थियो । मोहम्मद गोठाटारमा गार्मेन्ट व्यवसाय गरिरहेका थिए ।  उनी २०६४ सालमा हत्या आरोपमा मोहम्मद पक्राउ परेका थिए । यस घटनामा संलग्न भएको आरोपमा उनी १० वर्ष जेल सजाय भोगेर पाँच वर्षअघि छुटेका थिए ।

घटनाको अनुसन्धानका लागि एसएसपी जनकराज भट्टराईको नेतृत्वमा एक समिति गठन गरिएको थियो ।उनीहरुविरुद्ध 'मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यानसम्बन्धी कसुर' मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस