नाका नखुल्दा तिब्बतको च्याङ्ग्रा भित्रिन सकेन

सफल खबर संवाददाता

मंगलबार, ११ असोज २०७९, ०७ : ४५
नाका नखुल्दा तिब्बतको च्याङ्ग्रा भित्रिन सकेन

काठमाडौं । व्यवसायीले मुस्ताङी च्याङ्ग्रा बजार भित्र्याएका छन् । बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्ग्रा आइपुगेका हुन् । व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दशैँमा च्याङ्ग्रा भित्र्याउँछन् । दशैँमा च्याङ्ग्राको माग उच्च हुन्छ ।

बागलुङका व्यवसायी महेन्द्र केसीले स्थानीय बलबहादुर थापासहित पर्वत र काठमाडौँका दुई–दुई व्यवसायी मिलेर दुई सय ५० च्याङ्ग्रा ल्याएको बताए। “सानो बगालमा किन्न नमिलेपछि छ जना मिलेर ल्यायौँ”, उनले भने, “यीमध्ये केही च्याङ्ग्रा काठमाडौँ पुग्छन्, अरु बागलुङ र पर्वतमा बेच्छौँ ।”

उनका अनुसार मुस्ताङ पुगेका अरु व्यापारी च्याङ्ग्रा ल्याएर बाटोमा फर्कदैँछन् । मुस्ताङको जोमसोम, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउँछन् । त्यहाँबाट म्याग्दी, बागलुङ हुँदै पर्वत ल्याइपु¥याउन हप्ता दिनसम्म लाग्छ । बर्सेनि मुस्ताङी च्याङ्ग्रा पोखरा हुँदै काठमाडौँ पनि पुग्छ ।

सात वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका केसीले यसपालि पनि भाउ महँगो परेको सुनाए । “रोज्जा च्याङ्ग्रालाई मुस्ताङमै रु ४० हजार जति प¥यो, यहाँ बेच्दा त ४५ हजारमाथि पुग्छ”, उनले भने, “तिब्बतबाट च्याङ्ग्रा आएन, मुस्ताङको आफ्नै उत्पादन कम छ ।” 

कोराला नाका नखुल्दा तिब्बतका व्यापारीले च्याङ्ग्रा मुस्ताङ भित्र्याउन पाएका छैनन् । मुस्ताङमा पालिने च्याङ्ग्राले मात्र बजार माग धान्दैन । च्याङ्ग्रै कम आएका कारण मूल्य बढेको व्यवसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस