असिगडामा मोटरेबल पुलको शिलान्यास, त्रिदेशीय व्यापारको ढोका खुल्छ : मन्त्री बडू

सफल खबर संवाददाता

सोमबार, ०३ असोज २०७९, १६ : १०
असिगडामा मोटरेबल पुलको शिलान्यास, त्रिदेशीय व्यापारको ढोका खुल्छ : मन्त्री बडू

दार्चुला । दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माणको शिलान्यास गरिएको छ । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको मल्ला छारछुम जोड्ने गरी महाकाली नदीमाथि पुलको शिलान्यास गरिएको हो ।

नेपालतर्फ उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले पुलको सोमबार दिउँसो शिलान्यास गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । भारत सरकारको लगानीमा निर्माण हुने पुल शिलान्यास कार्यक्रममा भारतीय राजदूतावासका प्रतिनिधि, दार्चुलाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयको सहभागिता रहेको थियो । पुल शिलान्यास कार्यक्रमको अवसरमा महाकाली नदीको समेत पूजा गरिएको छ ।

नेपालतर्फ पुलको शिलान्यास गर्दै मन्त्री बडूले सुदूरपहाडमा पहिलोपटक नेपाल९भारत जोड्ने मोटर पुल बन्न लागेको बताए । यसअघि कञ्चनपुर, कैलालीमा पुल भएपनि पहाडी जिल्लामा दुई देश जोड्ने पक्की पुल बनेको थिएन । मन्त्री बडूले भने, ‘दार्चुलामा पुल बनेसँगै सुदूरपहाडको समृद्धिको ढोका खुल्छ ।’ दार्चुला त्रिदेशीय सीमा जोडिएको जिल्ला पनि भएकोले त्रिदेशीय (नेपाल–भारत–चीन) व्यापारको समेत ढोका खुल्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस