विराटनगर महानगरले सुरु गर्‍यो हटलाइन सेवा

सफल खबर संवाददाता

शनिबार, ०१ असोज २०७९, १७ : ०५
विराटनगर महानगरले सुरु गर्‍यो हटलाइन सेवा

मोरङ। सर्वसाधारणको गुनासोलाई सम्बोधन गर्नका लागि विराटनगर महानगरले हटलाइन सेवा सुरु गरेको छ। महानगरपालिकाका मेयर नागेश कोइरालालले महानगरवासीको गुनासो सुन्न र सम्बोधन गर्नका लागि टोल फ्री हटलाइन सेवा सुरु गरिएको जानकारी दिए।

जनताको सेवा गर्न कार्यालयदेखि महानगरवासीको घरघर पुग्दै आएको बताएका मेयर कोइरालाले भने, ‘महानगरवासीको काम र सेवामा समर्पित भएर लागेका छौँ। काम गर्दै जाँदा भेटघाट वा समय अभावले समस्या बुझ्न नसक्दाको अवस्थालाई मध्यनजर गर्दै हटलाइन सेवा सुरु गरेका हौँ। आफ्नो परिचयसँगै वा परिचय गोप्य राखेर महानगरमा देखिएका कमि कमजोरी टिपाएर, सल्लाह सुझाव आउने अपेक्षा गरेका छौँ। जसबाट महानगरलाई थप सम्बृद्ध बनाउन सकियोस्।’

हटलाइन सेवा २४ घण्टा खुल्ला रहने बताएका मेयर कोइरालाले महानगरवासीका कुनै पनि गुनासो भए फोन गरेर टिपाउन सकिने जानकारी दिए। मेयर कोइरालाले भने, ‘महानगरवासीका गुनासो र सुझावलाई सम्बन्धित महाशाखा र शाखामार्फत प्राथमिकताका आधारमा सम्बोधन गरिनेछ।’

महानगरले सञ्चालनमा ल्याएको हटलाइन नम्बर १६६०२१४२२२२ रहेको छ। यससँगै महानगरले महानगरवासीका लागि इमेल गरेरसमेत आफ्ना गुनासो र सुझाव टिपाउन व्यवस्था मिलाएको छ। हटलाइनको व्यवस्थापनको जिम्मा नगर प्रहरीले गर्ने महानगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस