भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

सफल खबर संवाददाता

मंगलबार, २८ भदौ २०७९, ०७ : ५८
भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

बागलुङ । बागलुङको गलकोट नगरपालिका-११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन् ।

रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकीले जनाएको छ । स्वास्थ्यचौकीका अनुसार साविक रिघा गाविसको वडा नं १, २ र ४ वडामा बढी र वडा नं ५ का केहीमा पनि सङ्क्रमण देखिएको छ ।

हाल बिरामीलाई सामान्य औषधि दिने काम भइरहेको र लामो समय बिरामी भएकाको प्रयोगशाला परीक्षण गर्दा उनीहरूमा टाइफाइडसमेत पोजेटिभ देखिएको स्वास्थ्यचौकी स्रोतको भनाइ छ । गाउँमा बिरामी बढेपछि रिघा स्वास्थ्यचौकीले डेङ्गुको पनि परीक्षण गर्ने तयारी गरेको छ ।

विद्यालयका शिक्षक तथा विद्यार्थी नै भाइरल ज्वरोले ग्रसित भएपछि विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । गलकोट(११ मा रहेको छिचिम्रा पोखरी आधारभूत विद्यालय तीन दिनका लागि बन्द गरिएको प्रध्यानाध्यापक हर्कबहादुर विकले बताए ।

गत हप्ता केही विद्यार्थी र शिक्षकमात्रै बिरामी रहेको र आइतबार २४ विद्यार्थी अनुपस्थित भएपछि विद्यालय बन्दको निर्णय गरिएको उनले जानकारी दिए । शिक्षक भोजेन्द्र नेपालीका अनुसार स्वास्थ्य समस्या देखिएकाले नै विद्यार्थी अनुपस्थित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस