एक वर्षमा नेपाल भित्रन्छ पौने चार अर्बभन्दा बढीको सारी, धोती र लुङ्गी

सफल खबर संवाददाता

शुक्रबार, १७ भदौ २०७९, १४ : ५३
एक वर्षमा नेपाल भित्रन्छ पौने चार अर्बभन्दा बढीको सारी, धोती र लुङ्गी

काठमाडौं । नेपालमा एक वर्षमा पौने चार अर्बभन्दा बढीको सारी, धोती र लुङ्गी भित्रने गरेको पाइएको छ ।भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मूल्य बराबरको सारी, धोती र लुङ्गी नेपाल भित्रिएको हो ।

सो अवधिमा विभिन्न देशबाट नेपालमा ३ अर्ब ८५ करोड २८ लाख ८५ हजार रुपैयाँको सारी, धोती र लुङ्गी भित्रिएको विभागले जनाएको छ ।बेल्जियम, भुटान, चीन, फ्रान्स, भारत, इन्डोनेसिया, अमेरिका, जर्मनी, नेदरल्याण्ड्स, थाइल्याण्ड, नामिबिया, अष्ट्रेलिया, बंगलादेश, मलेसिया, निकारागुवा, कतार, सिंगापुर, श्रीलंका लगायतका देशबाट नेपालमा सारी, धोती र लुङ्गी भित्रने गरेको छ ।

नेपालमा सबैभन्दा बढी सारी, धोती र लुङ्गी भारतबाट आउने गरेको छ । गत आर्थिक वर्ष मात्र भारतबाट ३ अर्ब ७५ करोड ८७ लाख ७ हजार रुपैयाँको सारी, धोती र लुङ्गी नेपाल भित्रिएको विभागको तथ्यांकले देखाउँछ ।

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा विभिन्न देशबाट २० करोड ७९ लाख २८ हजार रुपैयाँको सारी, धोती र लुङ्गी नेपाल भित्रिएको विभागले जनाएको छ । जसमध्ये २० करोड ५२ लाख ७१ हजार रुपैयाँको सारी, धोती र लुङ्गी नेपालले भारतबाट आयात गरेको हो ।

प्रतिक्रिया दिनुहोस