करेन्ट लागेर पर्सामा एक मजदूरको मृत्यु, एक घाइते

सफल खबर संवाददाता

बुधबार, १५ भदौ २०७९, १९ : २९
करेन्ट लागेर पर्सामा एक मजदूरको मृत्यु, एक घाइते

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरमा रहेको सर्वोत्तम स्टिलमा बुधबार करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

करेन्ट लागेर बर्दियाको बारबर्दिया नगरपालिका–१ का १७ वर्षीय रबिन थारुको मृत्यु भएको हो। करेन्ट लागेर बर्दियाकै राजापुर नगरपालिका–६ बस्ने ३० वर्षीय सिताराम थारु घाइते भएको प्रहरीले जनाएको छ।

बिहान साढे १० बजे उद्योगको थप भवन बनाउने क्रममा तल्लो तल्लाको जग ढलानको लागि सिमेन्ट र गिट्टी बालुवाको मिश्रण भाइब्रेसन मेसिनले सम्याउने क्रममा मेसिनको तार सर्ट भइ करेन्ट लाग्दा दुबै जना घाइते भएका थिए।

गम्भीर घाइते भएका दुबै जना मजदुरलाई उपचारको लागि बयोद्धा अस्पताल वीरगञ्जमा लगिएकोमा रबिनलाई चिकित्सकले मृत घोषित गरेको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए।

सितारामको उपचार भइरहेको तथा घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको गिरीले बताए।

 

प्रतिक्रिया दिनुहोस