सप्तरीमा पोखरीमा डुबेर २४ जनाको मृत्यु

रासस

विहीबार, ०२ भदौ २०७९, १४ : १३
सप्तरीमा पोखरीमा डुबेर २४ जनाको मृत्यु

सप्तरी । सप्तरीमा गत वर्ष २४ र तीन वर्षको अवधिमा ५७ जनाको मृत्यु भइसकेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नयाँ आर्थिक वर्षको पहिलो महिनामै पोखरीमा डुबेर चार जनाको मृत्यु भइसेको छ । पोखरीमा डुबेरै राजगढ गाउँपालिकामा गत बुधबार मात्र एक बालकको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भयो । यसैगरी उक्त गाउँपालिका–४ बेल्ही चपेनास्थित सार्वजनिक पोखरीमा सोही ठाउँका वीरेन्द्र मण्डलको छोरा १३ वर्षीय राजा मण्डलको पनि डुबेरै मृत्यु भएको छ ।

बुधबार मृत्यु भएका बालकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । यसअघि साउन २६ गते बोदे बर्साइन नगरपालिका–८ काचनमा एक बालिकाको पोखरीमै डुबेर मृत्यु भयो ।सोही ठाउँ बस्ने मीताराम दासकी छोरी छ वर्षीया नन्दनी कुमारी दासको पनि नुहाउने क्रममै मृत्यु भएको थियो । यसैगरी साउन २४ गते जिल्लाको दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक युवकको पोखरीमा डुबेर मृत्यु भयो । छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीस्थित पोखरीमा डुबेर दुई वर्षीय दिप पण्डितको मृत्यु भएको थियो । सोही दिन विष्णुपुर गाउँपालिका–३ बस्ने ३५ वर्षीय लल्कु भनिने शिवशङ्कर सदाको पोखरीमै डुबेर मृत्यु भयो ।

उनी पोखरीको मध्य भागमा फुलेको कमलको फूल टिप्न गएका थिए । प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/८० को सुरुआतमै जिल्लामा दुई बालक, एक बालिका र एक युवकको डुबेर मृत्यु भएको थियो । प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार पोखरीमा डुबेर मृत्यु हुनेको सङ्ख्या बर्सेनि बढ्दो छ । मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या बढी देखिएको छ । आर्थिक वर्ष २०७६/७७ मा ११, २०७७/०७८ मा २२ र २०७८/७९ मा २४ जनाको डुबेर मृत्यु भएको थियो । नयाँ आर्थिक वर्षको सुरुआतमै चार जनाको मृत्युले यो सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

तीन वर्षको अवधिमा बालबालिकाको मृत्यु अन्य कारणले भन्दा डबेरै मृत्यु हुनेको सङ्ख्या अधिक रहेको छ । तीन वर्षमा २१ बालक र १२ बालिका गरी ३३ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । जस्मा सात बालक र छ जना बालिका त पाँच वर्ष मुनिका छन् । यसैगरी १९ देखि २५ वर्ष उमेरका छ पुरुष, २६ देखि ३५ वर्षका दुई महिला र चार पुरुष, ३६ देखि ४५ वर्षका एक महिला र दुई पुरुष, ४६ देखि ५५ वर्षका एक महिला र दुई पुरुष, ५६ देखि ६५ वर्षका तीन पुरुष तथा ६६ वर्ष माथिका तीन पुरुषको मृत्यु पनि डुबेरै भएको उल्लेख छ ।

तराई–मधेसमा पोखरीसँगै नदी, नाला, नहर, खोला, खाल्डोमा डुबेर समेत मृत्यु हुने गरेको छ । यो तीन वर्षको अवधिमा २६को पोखरीमा, १०को खाल्डोमा, सातको खोलामा, १०को नहरमा र चार जनाको नदीमा डुबेर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस