आगामी निर्वाचनमा मतपत्रमा मतदातालाई समस्या हुन्नः प्रमुख आयुक्त थपलिया

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १९ : १२
आगामी निर्वाचनमा मतपत्रमा मतदातालाई समस्या हुन्नः प्रमुख आयुक्त थपलिया

काठमाडौँ ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सबै उम्मेदवारहरुको समान हैसियत हुनेगरी समाचार प्रशारण तथा प्रकाशित गर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन्।

विगतमा कतिपय अवस्थामा राजनीतिक दल र तिनका उम्मेदवारहरुलाई निर्वाचनको सिद्धान्त विपरीत फरक–फरक हैसियत हुने गरी समाचार प्रेषित हुने गरेको पाइएको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा त्यस्तो विभेद नगरी समाचार प्रशारण तथा प्रकाशन गर्न सञ्चार माध्यमलाई आग्रह गरेका हुन्।

स्थानीय तह निर्वाचन २०७९ को प्रगति समीक्षा गर्नका लागि मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफैसँग साझेदारी गरिरहेको सञ्चारमाध्यमसँग निर्वाचन आयोगले स्पष्टीकरण लिनुपर्ने अवस्था आउन नदिन पनि सञ्चार माध्यामहरुलाई सचेत गराए।

उनले स्थानीय तह निर्वाचनमाजस्तो मतदातालाई समस्या हुने खालको मतपत्र प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नहुने पनि स्पष्ट पारे। प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘सबै राजनीतिक दल र उम्मेदवारहरुलाई निर्वाचनको सिद्धान्त बमोजिम समान हैसियत कायम गर्ने ढंगले सबैलाई समान व्यवहार गर्ने ढंगले समाचारहरु, सूचनाहरु सम्प्रेषण गरिदिनु पर्‍यो। तपाईंहरु धेरै जान्ने हुनुहुन्छ। अलिअलि पढ्दा पढ्दै हामी पनि बुझ्छौँ। तपाईंहरुले कसलाई कसरी सर्पोट गर्नुभएको छ, त्यो हामी पनि बुझ्दछौँ। हामीले त्यसरी बुझ्नुपर्ने अवस्था नहुने गरी सबैप्रति समान व्यवहार गरिएको छ भन्ने हिसाबले सहयोग गरिदिनु पर्‍यो।’

प्रतिक्रिया दिनुहोस