निर्मला पन्त प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १३ : ०४
निर्मला पन्त प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप

काठमाडौँ । निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा मुछिएका दिलीपसिंह विष्टले युवतीहरुलाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।

भगतपुर ब्यारेक–उल्टाखाम सडकखण्ड भएर आवतजावत गर्ने किशोरी र युवतीलाई विष्टले जिस्काउने र हैरानी पार्न थालेको गुनासो आएपछि प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामसिंह चौधरीले जानकारी दिए ।

२०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखाम घर भएकी निर्मलाको उखुबारीमा बलात्कारपछि हत्या भएको थियो । त्यही प्रकरणमा संलग्नता रहेको भन्दै हत्या भएको २५ दिनपछि प्रहरीले विष्टलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको थियो । तर, २०७५ भदौ २६ मा जिल्ला अदाललते संलग्नता पुष्टि गर्ने आधार नभएको र डीएनए म्याच नभएको भन्दै विष्टलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि बाहिर आएका थिए । 

विष्टको पछिल्लो हर्कतले किशोरी तथा बालिकाहरुले असुरक्षा महसुस गर्न थालेका छन् भने अभिभावक पनि त्रसित भएका छन् । हाल निर्मला प्रकरणमा अनुसन्धान गर्न खटिएका सिआईबी र जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृतहरुले त्यसबारे अनुसन्धान गरिरहेकाे बताइएकाे छ । 

प्रतिक्रिया दिनुहोस