काठमाडौँ । नायब सुब्बा बचाउ’ अभियानको पहलमा कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन् । प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफूहरूले उठाउँदै आएका मागलाई सम्बोधन गरिनुपर्ने बताउँदै सोमबार बिहान सिंहदरबारमा कर्मचारीले प्रदर्शन गरेका हुन् ।
सेवाको सुरक्षा, पेशागत हित र वृत्ति विकासका विषयलाई ध्यान नदिएकोले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईले जानकारी दिए । कर्मचारीहरूले संघ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न तहगत व्यवस्था राख्नुपर्ने पनि माग गरेका छन् ।
शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक/अन्तरतहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्न पनि उनीहरूको माग छ ।सहसचिव र उपसचिव सरहको पदमा योग्यता पुगेका राजपत्र अंकित कर्मचारीले पनि प्रतिस्पर्धा गर्न पाउनुपर्ने तथा सरुवा प्रणाली चक्रीय र पूर्वानुमानयोग्य हुनुपर्ने जस्ता प्रावधान समावेश गरी संघीय निजामती सेवा ऐन जारी गर्न उनीहरूले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ साउन २०७९, ११ : १५
लेखकबाट थप