कोभिड महामारीसँग जुध्ने सामर्थ्य हामीले विकास गर्नुपर्ने खाँचो छ : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

विहीबार, १२ साउन २०७९, १३ : ३३
कोभिड महामारीसँग जुध्ने सामर्थ्य हामीले विकास गर्नुपर्ने खाँचो छ : प्रधानमन्त्री देउवा

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारी पूर्णरूपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। केही समयता मत्थर हुँदै गएको कोभिड महामारी पुनः विस्तार हुँदै जाने खतरा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले त्यसलाई पूर्णरूपमा नियन्त्रण गर्नुपर्ने खाँचो रहेको बताएका हुन्।

वीर अस्पतालको १३३ औँ वार्षिकोत्सवको अवसर पारेर बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भविष्यमा आउन सक्ने विभिन्न महामारीहरूको नियन्त्रणका लागि पनि सरकारले आफ्नो सामर्थ्यकाे विकास गर्नुपर्नेमा जाेड दिए।

प्रधानमन्त्री देउवाले भने, ‘केही समययता मत्थर भएको कोभिड महामारी पुनः विस्तारै फैल्दै जाने खतरा देखिएको छ। अझ यसलाई पूर्ण रूपमा नियन्त्रण गर्दै भविष्यमा आउनसक्ने अन्य विभिन्न किसिमका महामारीसँग जुध्ने सामर्थ्य हामीले विकास गर्नुपर्ने खाँचो छ। साथै क्यान्सरजस्ता घातक रोगको बिरामीहरूलाई समयमै सहज उपचार गराउने गरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित पक्षले ध्यान दिने विश्वास लिएको छु। भविष्यमा प्रमुख स्वास्थ्य समस्या भनेको सर्नेभन्दा पनि नसर्ने रोगहरू छन् भन्ने विश्व स्वास्थ्य संगठनले पूर्व अनुमान गरेको छ। हामीले पनि नसर्ने रोगका बिरामीहरूलाई सहज उपचारका लागि क्षमता विकास गर्दै जानुपर्ने आवश्यकता छ।’

प्रधानमन्त्री देउवाले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन सरकार कटिवद्ध रहेको पनि बताए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सरजस्ता घातक रोगका लागि सहज ढंगले उपचार गराउन सरकारले बजेटको व्यवस्था गरे पनि त्यसको सदूपयोग गर्न नसकेको भन्दै वीर अस्पताल व्यवस्थापनको आलोचना गरे।

प्रतिक्रिया दिनुहोस