युनाइटेडका प्रशिक्षकसँग छलफल गर्दै रोनाल्डो

सफल खबर संवाददाता

मंगलबार, १० साउन २०७९, १६ : ०८
युनाइटेडका प्रशिक्षकसँग छलफल गर्दै रोनाल्डो

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो भविष्यका बारेमा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागसँग मंगलबार छलफल गर्ने भएका छन् । ३७ वर्षे पोर्चुगिज स्टारले क्लबले आफूलाई छाडोस् भन्ने चाहिरहेको चर्चा छ ।

व्यक्तिगत कारण देखाउँदै उनी युनाइटेडको थाइल्यान्ड र अस्ट्रेलियाको प्रि सिजन भ्रमणमा सामेल भएनन् । उनले टोलीसँग अभ्यास गर्न बाँकी छ । उनी म्यानचेस्टर भने फर्किसकेका छन् । प्रशिक्षक टेन हागले रोनाल्डो बिक्रीमा नरहेको र आफ्नो योजनामा रहेको बताएका थिए ।

रोनाल्डो गलसिजन इटालियन क्लब युभेन्ट्सबाट युनाइटेड फर्किएका थिए । भ्रमणमा निस्कनुअघि टेन हागले रोनाल्डोसँग कुराकानी गरेका थिए । ‘मेरो र रोनाल्डोबीचमा राम्रो कुराकानी भएको छ, उनले भनेका थिए,‘म यति भन्न सक्छु हाम्राबीचमा साच्चै राम्रो छलफल भएको थियो ।’

प्रि सिजन भ्रमणमा नभएका कारण पनि रोनाल्डोको भविष्यलाई लिएर अनेक अडकलबाजी भएका छन् । भ्रमणबाट फर्केपछि उनी टोलीको अभ्यासमा सामेल भएका थिए । 

गत सिजन रोनाल्डोले युनाइटेडका लागि सर्वाधिक गोल गर्दा प्रिमियर लिगमा भने तेस्रो स्थानमा थिए । तथापि टोलीको प्रदर्शन गत सिजन राम्रो हुन सकेन । प्रिमियर लिगको छैटौं स्थानमा रहेको टोली च्याम्पियन्स लिगमा छनोट हुन सकेन ।

त्यसैले पनि रोनाल्डोले युनाइटेड छाड्न चाहेको बताइन्छ । युनाइटेडमा रहे भने उनले युरोपा लिग खेल्नुपर्ने हुन्छ । उनी च्याम्पियन्स लिग खेल्न चाहन्छन् । युनाइटेडसँग उनको एक वर्ष सम्झौता रहेको छ । त्यसपछि पनि अर्को एक वर्ष सम्झौता गर्ने विकल्प रहेको छ ।

रोनाल्डो अझै पनि आफूले आकर्षक प्रस्ताव पाउन सक्नेमा आशावादी छन् । चेल्सी उनलाई अनुबन्ध गर्ने योजनाबाटपछि हटे पनि बायर्न म्युनिख र एट्लेटिको मड्रिडको चासो भने अझै उनीमाथि रहेको चर्चा छ ।

तर, युनाइटेड उनलाई विक्री गर्न नचाहेको बताइन्छ । युनाइटेडले एट्लेटिकोसँग शनिबार नर्वेमा खेल्नेछ । त्यस्तै प्रि सिजनको अन्तिम खेलका रुपमा टोलीले ओल्ड ट्राफोर्डमा आइतबार रायो भ्यालेसानोको सामना गर्दैछ । 

प्रतिक्रिया दिनुहोस