काठमाडौं । ६ दिनदेखि फोहोरो संकलन कार्य रोकिँदा फेरि काठमाडौं महानगरपालिकाका मुख्य स्थान दुर्गन्धित हुन थालेका छन् । ६ दिनको अवधिमै काठमाडौंको बानेश्वर, बागबजार, पुतली सडक, न्युरोड, ठमेललगायत मुख्य क्षेत्र फोहोरका कारण पुनः दुर्गन्धित हुन थालेका हुन् ।अहिले यी स्थानमा फोहोरको थुप्रो लागेको छ । जसले गर्दा ओहोरदोहोर गर्न नै गाह्रो भइरहेको छ । घर, होटेल, अस्पताल अन्य ठाउँको फोहोर सडकपेटीमा थुपारिँदा नाक थुनेर हिँड्नुपर्ने अवस्था छ ।
गर्मीयामको समयमा फोहोरको दुर्गन्ध फैलिँदा सरुवा रोगको प्रकोप बढ्ने जोखिमसमेत बढेको छ । महानरपालिकाको कार्यालयले केही दिनअघि सूचना जारी गर्दै सिसडोलबाट बन्चरेडाँडा जोड्ने सडकखण्डको मर्मत गर्नुपर्ने भन्दै एक साता फोहोर नउठ्ने जनाएको थियो ।
यद्यपि महानगरपालिकाले तोकेको समयमा फोहोर संकलन हुने सम्भावना भने कम छ । सडक निर्माणको काम नसकिएकोले थप केही दिन काठमाडौंको फोहोर संकलन हुने नहुने भएको हो ।महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले आज कति काम हुन्छ त्यसको प्रगतिको आधारमा फोहोर उठ्ने विषयबारेमा निश्चित हुने ।
‘बाटोको अवस्था राम्रो नभएकाले सिसडोलबाट बन्चरेडाँडा जोड्ने सडकखण्ड मर्मत गरिँदैछ । योभन्दा पहिले फोहोर बोकेका गाडी फस्ने गरेको थियो । आज कति काम हुन्छ त्यसको आधारमा कहिले फोहोर उठ्छ त्यसपछि मात्र भन्न सकिन्छ । अब एक/दुई दिनभित्रमा फोहोर उठ्छ भन्ने कुरामा विश्वस्त पार्न चाहान्छु,’ उनले भने ।
दुर्गन्ध फैलिएको क्षेत्रको फोहोरलाई टेकुमा केही दिनका लागि अस्थायी व्यवस्थापन गरिएको पनि प्रवक्ता मानन्धरले जानकारी दिए । सिसडोलबाट बन्चरेडाँडा जोड्ने सडकखण्ड सुधार भएपछि निरन्तर फोहोर उठ्ने उनको भनाइ छ ।
यसअघि महानगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई छुट्याएर राख्न नगरवासीलाई अनुरोध गरेको थियो । कुहिने फोहोरबाट मल उत्पादन गर्ने प्रयोजनका लागि महानगरले ठाउँ खोजी रहेको प्रवक्ता मानन्धरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० साउन २०७९, १३ : १०
लेखकबाट थप