आमाको नामबाट नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्छ : खिमलाल देवकोटा

सफल खबर संवाददाता

सोमबार, ०९ साउन २०७९, १२ : ३६
आमाको नामबाट नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्छ : खिमलाल देवकोटा

काठमाडाैँ । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्ने बताएका छन्। सोमबार राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै राष्ट्रियसभा सदस्य देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्था सकारात्मक भएको बताए।

यद्यपी सो व्यवस्थाको दुरुपयोग हुनसक्ने उनले आशंका व्यक्त गरे। सांसद देवकाेटाले भने, ‘आमाको नामबाट पनि वंशजको नागरिकता पाउने व्यवस्था गरेको छ। यो पक्ष पनि सकारात्मक छ। यहाँनिर के समस्या हुनसक्छ भन्ने मेरो अनुमान छ- जस्तो लोभलालच देखाएर वा धम्क्याएर नक्कली आमा खडा गरिन्छ कि भन्ने चिन्ता पनि हामीले जायर गर्नुपर्छ, अनुमान गर्नुपर्छ। बाबुको पहिचान हुन नसकेको व्यहोराको नागरिकता लिने व्यक्ति वा उसको आमाले स्वघोषणा गर्नुपर्ने प्रावधान विधेयकमा छ। स्वघोषणा गर्नुपर्ने विषय महिलाको निष्ठा, आदर्श र पवित्रतामाथि नै अपमान गरियो भन्ने मेरो ठम्याइ छ।’

उनले वैवाहिक अंगीकृतको सम्बन्धमा एउटा हातले सिन्दुर लगाउने र अर्को हातले नागरिकता दिने प्रावधान आएको टिप्पणी गरे।उनले ७ वर्षे प्रावधान हटाउनु नहुने धारणा राखे।

प्रतिक्रिया दिनुहोस