कतार विश्वकपका लागि नेपाली श्रमिक लैजान अनुमति

सफल खबर संवाददाता

शनिबार, ०७ साउन २०७९, १२ : ३४
कतार विश्वकपका लागि नेपाली श्रमिक लैजान अनुमति

काठमाडौँ । कतारमा यसै वर्ष हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति दिइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आउँदो नोभेम्बरदेखि कतारमा हुने उक्त फुटबल प्रतियोगिता प्रयोजनमा छोटो अवधिका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको हो ।

कतारमा हुने उक्त प्रतियोगिताका लागि कतारका विभिन्न कम्पनीले नेपाली कामदार लैजान इच्छा देखाएका थिए । सोही अनुसार छोटो अवधिका लागि नेपाली श्रमिक लैजान सरकारले अनुमति दिएको हो । यसरी श्रमिक लैजाँदा सबै प्रक्रिया पुरा गरेर मात्र लैजान मिल्ने बताइएको छ ।

छोटो अवधिका लागि पठाइने हुनाले श्रम स्वीकृति नै दिएर पठाउने या कसरी भन्ने कुरा निक्र्यौल भइसकेको छैन । तर यसरी जाने श्रमिकलाई सरकारले शून्य लागतमा पठाउन सम्बन्धित कम्पनीहरुलाई अनुमति दिने बताइएको छ । उनीहरुको जाने आउने खर्च सबै रोजगारदाताले दिनुपर्नेछ ।

विश्वकपको समयका लागि कामदारको मागबारे कतारका रोजगारदाता कम्पनीहरुले नेपाली दूतावासलाई जानकारी गराएपछि दूतावसले मन्त्रालयलाई पत्र लेखेको थियो । सोही अनुसार मन्त्रालयले निर्णय गरेर आवश्यक प्रक्रिया अघि बढाउन लागेको हो । यस प्रक्रियाबाट कतार जाने श्रमिकले त्यहाँ बढीमा ६ महिना मात्र काम गर्न पाउनेछन् । नेपालबाट लैजाने श्रमिकको संख्या र सेवा–सुविधाबारे यकीन निर्ण भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस