गभर्नरविरुद्ध संयुक्त विद्यार्थी संगठनहरुले थप आन्दोलनका कार्यक्रम सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, ०३ साउन २०७९, १७ : १८
गभर्नरविरुद्ध संयुक्त विद्यार्थी संगठनहरुले थप आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडाैँ  । गभर्नर महाप्रसाद अधिकारीविरुद्ध संयुक्त विद्यार्थी संगठनहरुले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यको जिम्मेवारीमा रहेकोले उनको राजीनामाको माग गर्दै उनीहरुले संघर्षका कार्यक्रम घोषण गरेका हुन्।अधिकारीले नेपाल राष्ट्र बैंक ऐन २०५८ को बर्खिलाप गभर्नरको जिम्मेवारीमा रहिरहेर कानुनी राज्यको धज्जी उडाएको भन्दै संयुक्त विद्यार्थी संगठनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ,  'सेयर कारोबार, क्रीप्टो करेन्सी जस्ता विभिन्न विवादमा मुछिएका उनी प्रतिपक्ष दलको सदस्यता लिएर मुलुकको अर्थतन्त्र ध्वस्त पार्न सक्रिय रहेको अहिले प्रमाणित भएको छ। यस्ता अनैतिक व्यक्तिबाट राजीनामाको अपेक्षा गर्नु मुर्खता हुनेछ।' त्यसकारण नेपाल सरकार समक्ष अवैध गभर्नर बर्खास्तीको माग गर्दै आन्दोलनको घोषणा गरेको जनाइएको छ। 

विज्ञप्तिमा नेविसंघका अध्यक्ष डुजाङ शेर्पा, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह,अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले हस्ताक्षर गरेका छन्। आन्दोलनका कार्यक्रम अन्तर्गत प्रधानमन्त्री र सभामुखलाई ज्ञापनपत्र बुझाउने, देशैभरका राष्ट्र बैंकका कार्यालयहरुमा कालो ब्यानर राख्ने, सडकमार्फत् आन्दोलन गर्ने लगायतका कार्यक्रमहरु रहेका छन्।

प्रतिक्रिया दिनुहोस