काठमाडाैँ । २०७२ को विनाशकारी भूकम्प गएको सात वर्ष बितिसक्दा पनि सम्पदा पुनर्निर्माणले पूर्णता पाउन सकेको छैन। ५ वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सरकारले १३९ वटा सम्पदा हालसम्म निर्माण गर्न सकेको छैन।
भूकम्पले उपत्यका लगायत विभिन्न जिल्लाका हजारौँ सम्पदा ध्वस्त भए। कति पुनर्निर्माण सम्पन्न भए भने कति अझै पनि पुनर्निर्माण हुन सकेका छैनन्। ९२० पुरातात्त्विक सम्पदा पुनर्निर्माण गर्नुपर्ने थियो। जसमा ५८९ वटा सम्पन्न भएका छन्। १९२ निर्माणाधीन अवस्थामा छन् भने १३९ वटा यतिवेला पनि पुनर्निर्माणको पर्खाइमा रहेको महालेखापरीक्षकको ५९ औं प्रतिवेदनमा उल्लेख छ।
घर, भवन, सम्पदा लगायतका संरचना राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको थियो। प्राधिकरणको कार्यकाल सकिएसँगै सम्पदा पुनर्निर्माणको काम पुरातत्त्व विभागले गर्दै आएको छ। निर्माण सम्पन्न भएका र निर्माणाधीन अवस्थामा रहेका सम्पदा पुनर्निर्माणका लागि आर्थिक वर्ष २०७२।०७३ देखि २०७७।०७८ सम्म ५ अर्ब ८५ करोड ८४ लाख बजेट विनियोजन गरिएको थियो। जसमा ४ अर्ब ५४ करोड ८२ हजार खर्च भएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ साउन २०७९, १६ : २९
लेखकबाट थप