क्यानडामा नरेश बुढाऐरले खेले ६५ बलमा २१० रनको पारी

सफल खबर संवाददाता

मंगलबार, ०३ साउन २०७९, १४ : ३०
क्यानडामा नरेश बुढाऐरले खेले ६५ बलमा २१० रनको पारी

काठमाडाैँ  । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य नरेश बुढाऐरले क्यानडाको एक स्थानीय क्रिकेट प्रतियोगितामा आक्रामक दोहोरो शतक प्रहार गरेका छन् । उनले क्यानडाको चौथो डिभिजनको मिसिसाउगा क्रिकेट लिगअन्तर्गत नर्थ योर्कको फेलिङ्टोन पार्कका मैदानमा नाइट क्रिकेट क्लबविरुद्ध उनले दोहोरो शतक बनाएका हुन् ।

क्यानडामा बस्दै आएका नरेशले नेपालीहरूको क्लब नेप्लिज क्यानेडियन क्रिकेट क्लबबाट खेलेका थिए । नरेशले ६५ बलमा २३ चौका र १६ छक्कासहित अविजित २१० रन बनाए । उक्त खेलमा उनको टोलीले २१० रनको फराकिलो जित हात पारेको थियो । 

नरेश नेपालले २०१४ को टी–२० विश्वकप खेल्दा टोलीका सदस्य हुन् । उनले नेपालका लागि चार टी–२० अन्तराष्ट्रिय र ६ लिस्ट ए  खेल खेलेका छन् । सन् २०१४ को विश्वकपमा हङकङविरुद्धको खेलबाट टी–२० अन्तर्राष्‍ट्रियमा डेब्यु गरेका थिए । 

पहिलोपटक सन् २००९ मा बहराइनविरुद्ध खेलबाट नेपालका लागि डेब्यु गरेका नरेशले अन्तिमपटक सन् २०१६ मा नामिबियाविरुद्धको नेपालका लागि खेलेका थिए । उनी विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट नेपाली घरेलु लिग खेल्थे ।  

प्रतिक्रिया दिनुहोस