भृकुटीमण्डपमा भएको आगलागीको छानबिन हुन्छः गृहमन्त्री खाँण

रासस

आइतबार, ०१ साउन २०७९, २१ : २६
भृकुटीमण्डपमा भएको आगलागीको छानबिन हुन्छः गृहमन्त्री खाँण

काठमाडौँ  । गृहमन्त्री बालकृष्ण खाँणले समाज कल्याण परिषद्को भृकुटीमण्डपमा भएको आगलागीको छानबिन गर्ने बताएका छन्। गृहमन्त्री खाणले आज दिउँसो आगलागी भएको क्षेत्रको अवलोकन गर्दै आगलागीबारे छानबिन गर्ने आश्वासन दिएका हुन्।

आगलागीमा परिषद्अन्तर्गतकोराष्ट्रिय अपाङ्ग कोषले अपाङ्गता भएकाहरुका लागि राखेका सहायता सामग्री जलेको थियो। उनले गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उनीहरुका लागि सहायता सामग्री उपलब्ध गराइने बताए।

मन्त्री खाँणले प्राधिकरणले उपलब्ध गराउने सहायता सामग्री राख्नका लागि आवश्यक पर्ने स्थान पनि खोजेर उपलब्ध गराउने आश्वासन दिए।  अवलोकनका क्रममा गृहमन्त्री खाँणले आगलागी भएको स्टोर, राष्ट्रिय अपाङ्ग कोषको कार्यालय र ती सामग्री निर्माणको समेत अवलोकन गरेका थिए।

गृहमन्त्री खाँणले कोषका सभापति डेकराज भट्टराईसँग आगलागी र कोषका बारेमा जानकारी लिएका थिए। अवलोकनका क्रममा गृहसचिव टेकनारायण पाण्डे, काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोरालगायतको सहभागिता थियो।

उक्त स्टोरमा असार २९ गते दिउँसो आगलागी भएको थियो। आगलागीबाट स्टोरमा रहेका सबै सामग्री जलेर नष्ट भएका छन्। 

 

प्रतिक्रिया दिनुहोस