पछिल्लाे तीन महिनामा विपद्का घटनामा परी १२३ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०१ साउन २०७९, १३ : २५
पछिल्लाे तीन महिनामा विपद्का घटनामा परी १२३ जनाको मृत्यु

काठमाडौं। पछिल्लो तीन महिनाको अविधिमा नेपालमा विपद्का घटनामा परी १२३ जनाको मृत्यु भएको छ । २०७९ वैशाख १ देखि असार ३२ गतेसम्मको अवधिमा विपद्का घटनामा परी उनीहरुको मृत्यु भएको हो । 

पहिरो, बाढी, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, जंगल आगलागी, हावहुरी र जनावरको आक्रमण लगायतका घटनामा परी उनीहरुको मृत्यु भएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार उक्त अवधिमा नेपालमा १ हजार ९८ वटा विपद्का घटना रेकर्ड भएका छन् । ती घटनामा ३०७ जना घाइते भएका छन् भने २ जना बेपत्ता छन् । 

बितेको तीन महिनामा विपद्का घटनामा परी १ हजार ४१८ परिवार प्रभावित भएको केन्द्रको तथ्याङ्कले देखाउँछ । विपद्का घटनाले सो अवधिमा ४६३ घरमा आंशिक र ३२५ घरमा पूर्ण क्षति गरेको छ । 

केन्द्रका अनुसार यस वर्ष विपद्का घटनामध्ये चट्याङ लागेर ५२, आगलागीका घटनामा परी २०, पहिरोमा पुरिएर १७, जनावरको आक्रमणमा परी १२, बाढीमा परी ३, भारी वर्षाका कारण ४, सर्पको टोकाइबाट ६ र हावाहुरीमा परी ९ जनाको मृत्यु भएको छ । 

२०७९ साल सुरु भएपछिको तीन माहिनामा विपद्का घटनाले ६८ करोड ९८ लाख ८७ हजार ६६० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको केन्द्रले जनाएको छ । 

केन्द्रको तथ्याङ्क अनुसार आगलागीका घटनाबाट ५७ करोड ७३ लाख ६२ हजार २६० रुपैयाँ, पहिरोबाट ४ करोड ८१ लाख ७८ हजार रुपैयाँ, बाढीबाट ५० लाख १९ हजार रुपैयाँ, भारी वर्षाबाट १ करोड २३ लाख ८९ हजार ८ सय रुपैयाँ, चट्याबाट २५ लाख ४२ हजार रुपैयाँ, जंगल आगलागीबाट १ करोड २३ लाख ८५ हजार रुपैयाँ, हावाहुरीबाट २ करोड ५४ लाख ११ हजार ८ सय रुपैयाँ र जनावर आतंकबाट १९ लाख ५६ हजार ५ सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । 

गतवर्ष (२०७८ साल) विपद्का घटनामा परी देशभर ५०८ जनाको मृत्यु, ७६ जना बेपत्ता र १ हजार ७८३ जना घाइते भएका थिए । सो वर्ष ६ हजार १५५ परिवार प्रभावित भएका थिए । विपद्का घटनाले गत वर्ष २ अर्ब ६१ करोड ४० लाख ६७ हजार ५७४ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो । 

प्रतिक्रिया दिनुहोस