उपसभामुखको निर्वाचन शुक्रबार गर्ने तयारी

सफल खबर संवाददाता

बुधबार, २९ असार २०७९, ११ : ४३
उपसभामुखको निर्वाचन शुक्रबार गर्ने तयारी

काठमाडौँ । ‍प्रतिनिधिसभा उपसभामुखको निर्वाचन तयारी भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार उपसभामुख निर्वाचनको दिन र समय तोक्न लागेका छन् । 

प्रतिनिधिसभाको बुधबारको दैनिक कार्यसूचीमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनको लागि दिन र समय तोक्नुहुनेु उल्लेख छ । प्रतिनिधिसभाको ११ बजे बस्ने बैठकमा सभामुख सापकोटाले उपसभामुख चयन प्रक्रियाको घोषणा गर्नेछन् ।

संसद् सचिवालय स्रोतका अनुसार उपसभामुखको निर्वाचन शुक्रबार गर्ने तयारी भइरहेको छ । संसद् सचिवालयले शुक्रबारका लागि उपसभामुखको निर्वाचन गर्ने तयारी भइरहेको अधिकारीहरूको भनाइ छ ।

प्रतिनिधिसभा उपसभामुख पद २०७६ माघदेखि रिक्त छ । जसका कारण संवैधानिक परिषद्को बैठकदेखि प्रतिनिधिसभाका कामकारबाही प्रभावित भएका छन् । सांसदहरूले पटक-पटक उपसभामुख निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने माग गर्दा पनि सभामुख सापकोटाले निर्वाचन प्रक्रिया सुरु गरेका थिएनन् ।

सरकारले संवैधानिक परिषद्सँग सम्बन्धित ऐनमा परिवर्तन गर्न विधेयक ल्याएपछि भने उपसभामुख निर्वाचन प्रक्रिया सुरु हुन लागेको हो । प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख र पदाधिकारी नियुक्तिको बाटो खोल्न सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेशसँगै मेल खाने गरी संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन प्रक्रिया अघि बढाएको थियो । सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गरेर संविधानको व्यवस्थासँग बाझिने गरी कानुनी व्यवस्था गर्न खोजेको भन्दै आलोचना भएको थियो ।