काठमाडाैँ । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहली निकै खराब लयमा छन् । उनको प्रदर्शनको चौतर्फी आलोचना भइरहेको छ । खराब लयका कारण भारतका क्रिकेट विश्लेषक तथा पूर्वखेलाडीले कोहलीलाई टोलीबाट हटाउनुपर्ने तर्कसमेत राखेका छन् ।
भारतलाई सन् १९८३ मा विश्वकप जिताउने कप्तान कपिल देवले पनि कोहलीलाई केही समयका लागि टी–२० टोलीबाट बाहिर राख्नुपर्ने बताएका थिए । समर्थक पनि कोहलीको प्रदर्शनलाई लिएर उत्तिकै आक्रोशित छन् ।
यद्यपि कप्तान कप्तान रहेका रोहित शर्माले भने कोहलीको बचाउ गर्दै बाहिरी कुराले खासै महत्व नराख्ने प्रतिक्रिया दिएका छन् । ‘हाम्रो लागि कुनै कठिन छैन, हामी बाहिरको कुरा सुन्दैनौं । एक्सपर्ट (विशेषज्ञ) को हुन्? उनीहरूलाई किन एक्स्पर्ट भनिन्छ? उनीहरूलाई भित्र के चलेको छ थाह हुँदैन’, रोहितले कोहलीको बचाउ गर्दै भनेका छन् । उनल अगाडि भने, ‘हामी टोली बनाउछौं, त्यसको पछाडि धेरै छलफल र विचार हुन्छ । खेलाडीलाई मौका र साथ दिनुपर्छ । यो कुरा बाहिरी मानिसलाई थाह हुँदैन । यसैले बाहिर के भएको छभन्दा पनि भित्र के भएको छ त्यो बढी महत्वपूर्ण हुन्छ ।’
कोहलीले इंग्ल्याण्डसँगको टी–२० सिरिजमा एक र ११ रन मात्र बनाउन सकेका थिए । पहिलो खेलमा भने उनलाई विश्राम दिइएको थियो । कुनै समय लगातार शतकको कीर्तिमान राख्दै आएका कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो तीन वर्षदेखि शतकविहीन छन् ।
भारतका अन्य खेलाडी दीपक हूडा, सञ्जु स्यामसन, श्रेयस अय्यरलगायतका खेलाडीले लगातार राम्रो प्रदर्शन गरिरहेको हुँदा कोहलीको स्थानमा उनीहरूलाई मौका दिनुपर्ने आवाज उठ्दै आएको छ ।
‘तपाईं फर्म (लय) को कुरा गर्नुहुन्छ भने त्यो तलमाथि सबैको हुन्छ । तर खेलाडीको गुण कहिल्यै खराब हुँदैन । यो हामीले सधैं ध्यानमा राख्नुपर्छ । खराब प्रदर्शनमा पनि खेलाडीको क्षमतालाई साथ दिएको हुनुपर्छ,’ कोहलीको आलोचनाबारे रोहितले भने, ‘जब कुनै खेलाडीले लामो समयदेखि निरन्तर राम्रो प्रदर्शन गर्दै आएको छ भने एक/दुई सिरिज वा वर्षमा नराम्रो खेल्दैमा उनी बाहिर हुनुहुँदैन ।’
‘खेलाडीलाई बुझ्न बाहिरका मानिसलाई धेरै समय लाग्छ । टोलीमा कोहलीको महत्व कति छ भन्ने हामीलाई राम्रोसँग थाहा छ । बाहिर कुरा गर्न सबैलाई अधिकार छ । तर त्यसले हामीलाई खासै फरक पर्दैन’, रोहितले थपे ।
भारत र इंग्ल्याण्डबीच आजबाट तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज सुरु हुँदैछ । टी–२० विश्वकप अघि कोहलीको प्रदर्शनलाई लिएर चौतर्फी आलोचना भइरहेको छ । टी–२० विश्वकप आगामी अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असार २०७९, १३ : ४८
लेखकबाट थप