पिएसजीमा अनिश्चित बन्दै नाभासको भविष्य

सफल खबर संवाददाता

सोमबार, २७ असार २०७९, १३ : ३६
पिएसजीमा अनिश्चित बन्दै नाभासको भविष्य

काठमाडाैँ । फ्रेन्च लिग वान विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) का अनुभवी गोलरक्षक केलर नाभासको भविष्य अन्यौलमा परेको छ । नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्टिएरको आगमनसँगै क्लबमा उनको भविष्य अनिश्चित बनेको हो । 

गाल्टिएरले इटालीका जियानलुइजी डोनारुम्मालाई पहिलो रोजाइको गोलरक्षक बनाउने बताएपछि नाभास अर्को सिजन टोलीमा रहने वा नरहने अस्पष्ट बनेको छ । गत सिजन एसी मिलानबाट फ्री–ट्रान्सफरमा पिएसजी आएका डोनारुम्मा र नाभास दुवैलाई प्रशिक्षक माउरिसियो पोचेटिनोले समान अवसर दिएका थिए । तर यो सिजन प्रशिक्षक परिवर्तन भएसँगै डोनारुम्मा पहिलो रोजाइमा खेल्ने भएका हुन् । 

२३ वर्षीय डोनारुम्मालाई क्लबले दीर्घकालिन विकल्पको रुपमा हेरेको छ । यता ३५ वर्षीय नाभास भने करिअरको अन्त्यतिर छन् । पोचेटिनो प्रशिक्षक रहँदा नाभासले २६ तथा डोनारुम्माले २३ खेल खेलेका थिए । क्लबसँग नाभासको सम्झौता अझै दुई वर्ष बाँकी छ । पिएसजीमा उनी वार्षिक १२ मिलियन युरो तलब बुझिरहेका छन् । आफ्नो करिअरको अन्त्यतिर पुगिसकेका नाभासलाई अन्य क्लबले मोटो रकम खर्च गर्ने सम्भावना निकै कम छ । एकातर्फ मोटो तलब र अर्कोतर्फ नाभासको पहिलो रोजाइमा खेल्ने चाहनाले पिएसजी पनि दुविधामा छ । नाभास आफैंसामु पनि नियमित खेल्न कम तलब स्वीकार्दै अर्को क्लब जाने वा पिएसजीमा अवसर कुरेर बस्ने भन्ने अन्योल छ । 

 कोस्टारिकाका नाभास सन् २०१९ मा स्पेनिस क्लब रियल मड्रिडबाट पिएसजी आएका थिए । उनले फ्रेन्च क्लबका लागि ७१ लिग वान तथा राष्ट्रका लागि १०७ खेल खेलेका छन् । 

प्रतिक्रिया दिनुहोस