भारतीय उत्पादनका तरकारी सहजरुपमा नेपाल भित्रिएपछि नेपाली किसान मारमा

सफल खबर संवाददाता

शनिबार, २५ असार २०७९, ११ : २८
भारतीय उत्पादनका तरकारी सहजरुपमा नेपाल भित्रिएपछि नेपाली किसान मारमा

काठमाडौं ।  खुला सीमानाकाले सस्तो भारतीय उत्पादनका तरकारी सहजरुपमा नेपाल भित्रिएपछि नेपाली किसान मारमा परेका छन् ।

सम्भावना देखेर कृषि पेसामा लागेका किसान भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपछि समस्यामा परेको बताउँछन् । बैंकिङ लगानीमा कृषि पेसा अङ्गालेका कृषकले उत्पादन गरेको तरकारीलाई आयातित उत्पादनले विस्थापित गरेको किसानको पीडा छ ।

सरकारी तहबाट सहयोग नहुनु र बजारीकरणमा समस्याले बाहिरबाट आएका उत्पादनले आफूहरुको तरकारी उत्पादनलाई विस्थापित गरेको गैडहवा गाउँपालिका–७ का किसान विजयसिंह केवट बताउँछन् । आर्थिक वर्ष २०७८-०७९ को जेठ मसान्तसम्ममा जिल्लाको भैरहवा भन्सार नाकाबाट १० हजार ५६९ मेट्रिक टन हरियो तरकारी नेपाली बजारमा भित्रिएको देखिन्छ । यसको अलावा खुला सीमाको फाइदा उठाउँदै मोटरसाइकल र साइकलमा तरकारी दैनिक नेपाल भित्रिने गरेको छ ।

भारतमा कृषि उत्पादनमा सरकारले बीउ, मल, प्रविधि, विद्युत्लगायतमा सहयोग पुर्‍याउँदा कृषि उत्पादन लागत नेपालभन्दा निकै सस्तो हुने गर्दछ । नेपालमा मल, बीउ, प्राविधिक सहयोग, बजारीकरणको अभाव हुँदा बाहिरबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न समस्या परेको जिल्लाको तिलोत्तमा नगरपालिका–१४ का किसान पन्नेलाल केवट गुनासो गर्छन् । नेपालमा तरकारी बजारमा विचौलियाको समेत बढी प्रभाव हुने गरेको छ । यसले नेपाली किसान विस्थापित हुने गरेको सिद्धार्थनगर नगरपालिका–१२ का किसान राधेश्याम  लोध बताउँछन् ।

सङ्घ र प्रदेश हुँदै स्थानीय सरकारले नेपाली किसानलाई कृषि उत्पादनमा सहयोग र उत्पादन भएको वस्तु बजारीकरणमा व्यवस्थापन गर्नुपर्ने रुपन्देही कृषि उद्यमी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस