भरतपुरको विकासलाई रफ्तारमा लैजाने छु : मेयर दाहाल

सफल खबर संवाददाता

शुक्रबार, २४ असार २०७९, १६ : ११
भरतपुरको विकासलाई रफ्तारमा लैजाने छु : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अबको ५ वर्ष रफ्तारमा काम गर्ने बताएकी छन । भरतपुर वडा नम्बर १ स्थित लोक कल्याण सेवा प्रतिष्ठानद्धारा सञ्चालित राम जानकी बालिका आश्रमको गृह प्रवेश समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।

मेयर दाहालले यो कार्यकालमा पनि विगतको जस्तै साझा ढङ्गबाट सबैसँग हातेमालो गरेर अगाडि बढ्ने उल्लेख गरिन् ।‘म दोस्रो कार्यकालका निर्वाचित भएको छु, उनले भनिन्‘म केही गर्छु भनेर आएको छु । बृहत संकल्पसहित आएको छु । म भरतपुरको विकासलाई रफ्तारमा लैजाने छु । समानुपातिक विकास मेरो प्रतिवद्धता हो ।’

विगतमा महानगरपालिकाले भौतिक पूर्वाधारको क्षेत्रमा मात्रै काम गरेको छैन, दिगो विकासको लक्ष्य अनुसार सामाजिक क्षेत्रमा पनि ठूलो फड्को मारेका छौ–मेयर दाहालले भनिन् । राम जानकी बालिका आश्रम निर्माणका लागि महानगरपालिकाले ३ कठ्ठा जग्गा र भवन निर्माणका लागि बजेट विनियोजन गरी यसको अगुवाई गरेको मेयर दाहालको भनाई थियो ।

देवघाटको एक भवनमा भाडामा बालिकाहरुलाई संरक्षण गर्दै आएको आश्रमलाई भरतपुर महानगरपालिकाले जग्गा र भवन निर्माणका लागि बजेट विनियोजन गरेसँगै २८ कोठे भवन निर्माणधिन अवस्थमा छन् । भवन निर्माणमा वागमती प्रदेश सरकार र दाताहरुले सहयोग गरेका छन् । भवन निर्माणका लागि करिब २ करोड रुपैयाँ खर्च भइसकेको छ ।

बाँकी निर्माण कार्य सम्पन्न गर्न भरतपुर महानगरपालिकाले यस आर्थिक वर्षमा पनि बजेट विनियोजन गर्ने भरतपुुर महानगरपालिका प्रमुख रेनु दाहालले प्रतिवद्धता व्यक्त पनि गरिन्।

सो कार्यक्रममा मेयर दाहालले देवघाट क्षेत्रलाई आर्कषक धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महानगरपालिका अगाडि बढेको बताइन । भरतपुर मेडिकल, पर्यटकीय, शिक्षा, पूर्वाधार क्षेत्रमा धेरै फड्को मारेकाले अब भने धार्मिक क्षेत्रको विकासलाई प्रथामिकतामा राखेको उल्लेख गरिन् ।

देवघाट क्षेत्र भरतपुर महानगरपालिको गहना भएकाले अब आर्कषक तरिकाबाट यसको विकास गर्नु पर्ने उनको धारणा थियो । यो क्षेत्र आफै प्रकृतिक रुपमा सुन्दर छ, अझै सुन्दर बनाउनेतर्फ हामीले योजना तथा कार्यक्रम ल्याएका छौ–उनले भनिन्।

देवघाट आवत जावत गर्न वृद्धावृद्धलाई निःशूल्क विद्यातिय बस सञ्चालनमा ल्याउने पनि उनले जानकारी दिईन।कार्यक्रममा भूमि आयोग चितवनका अध्यक्ष बद्रीनाथ तिमिल्सिना, नेपाली काँग्रेसका सभापति राजेश्वर खनाल, आश्रमका सञ्चालनक, सावित्री टण्डन, रामेश्वर खनाल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस