राजश्व लक्ष्य पूरा गर्न नाका भन्सारले सामान रोक्नुको कुनै अर्थ छैन : मन्त्री बडू

सफल खबर संवाददाता

विहीबार, २३ असार २०७९, १९ : २६
राजश्व लक्ष्य पूरा गर्न नाका भन्सारले सामान रोक्नुको कुनै अर्थ छैन : मन्त्री बडू

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले वीरगञ्ज भन्सारको राजश्व लक्ष्य पूरा गर्नको लागि चोभार सुख्खा बन्दरगाह आउने कन्टेनरहरु वीरगञ्जमा रोक्न नमिल्ने बताएका छन् । बिहीबार मन्त्रालयमा चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सम्बन्धमा सरोकारवाला निकायहरुसँगको छलफल कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् ।

उनले राजश्व संकलनको लक्ष्य पूरा गर्नको लागि वीरगञ्जमा सामान ब्लक गर्दा ब्लकको ब्लक रहने र नाकाको लोड नहट्ने हो भने कुनै अर्थ नहुने भन्दै त्यस्तो गर्न नहुने बताए । मन्त्री बडूले वीरगञ्ज नाकाबाट काठमाडौं उपत्यकामा आउने सामान धेरै भएकाले उपत्यकामा आउने लोड मात्रै घटाउन सके पनि छिटो छरितो हुने बताए ।

उनले छिटो छरितो भएर सुविधाहरु बढ्दै जाँदा राजश्व पनि बृद्धि हुने बताए । मन्त्री बडूले चोभार सुख्खा बन्दरगाहलाई गतिशिल र पूर्णरुपमा चलाउन कहाँ के समस्या रहेको छ बुझ्न इन्टरमोडललाई निर्देशन दिए ।

उनले भने, ‘काठमाडौं उपत्यका भित्रको लागि विशेष सुविधा हुन्छ । भोलुम धेरै छ बाहिर नाकाहरुबाट काठमाडौंमा आउने सामानको । मुख्यतः हामीले वीरगञ्ज देखिरहेका छौं । अरु ठाउँबाट पनि केही त आउँदो रहेछ । काठमाडौ उपत्यकामा आउने लोड मात्रै घटाउन सक्यौं भने छिटो छरितो हुन्छ । छिटो छरितो भयो भने सुविधाहरु बढ्दै गयो भने राजश्व पनि बढ्छ । यो राजश्व बढाउने टार्गेट पनि होला । वीरगञ्जलाई छुटै राजश्व बढाउने टार्गेट थियो ।’

उनले थपे, ‘राजश्व बढाउन उहाँ रोक्नुको कुनै अर्थ छैन । त्यसकारणले यसलाई अर्थ मन्त्रालय,राष्ट्र बैंकले पनि हेर्नुपर्छ । टार्गेट दिएको छ भनेर वीरगञ्जमा ब्लक गर्ने भयो भने ब्लकको ब्लक रहने लोड नहट्ने हो भने अर्थ केही हुँदैन । चोभार सुख्खा बन्दरगाहलाई गतिशिल बनाउनको निमित्त र पूर्णरुपमा चलाउन कहाँ के समस्या छ बुझ्यौं ।’

मन्त्री बडूले चोभार सुख्खा बन्दरगाहमा राज्यको ठूलो लगानी रहेकाले तत्काल पूर्णरुपमा सञ्चालनमा ल्याउनुपर्ने बताए । उनले बन्दरगाह सञ्चालनमा ल्याउनको लागि मार्केटिङ,रेडियोमार्फत प्रचारप्रसार गर्न निर्देशन दिए । मन्त्री बडूले बन्दरगाह सञ्चालनमा भएका समस्या र नीतिगत समस्या भए सरकार परिर्वतन गर्न तयार रहेको बताए ।

उनले भने, ‘राज्यले यति ठूलो लगानी गरेपछि कष्टुम लागत कम गर्ने र सुख्खा बन्दरगाह फुलफेजमा चलाउनै पर्छ । चल्लुपर्छ । चोभार सुख्खा बन्दरगाह पूर्ण रुपमा सञ्चालन गर्न सबैको सहयोग आवश्यक छ । सञ्चालनमा कहाँ समस्या छन् त्यो हामी हेर्न तयार छौं । नीतिगत समस्या भए नयाँ नीति बनाउनु पर्छ । व्यवहारिक भए तत्काल समाधान गर्नुपर्छ । चोभार सुख्खा बन्दरगाह सञ्चालन आएको जानकारी नभएको विषय देखियो । मार्केटिङको समस्या देखियो ।’

उनले फेरि भने, ‘मार्केटिङ प्रचारप्रसारको जरुरत छ चोभार सुख्खा बन्दरगाहमा यो सुविधा छ भनेर प्रचार किन नगर्ने दिनुस् रेडियोहरुमार्फत पनि भन्नुस् । यी सबै पक्षमा यहाँहरुको जानकारी जाओस् । भन्सार एजेण्टाको समस्या छैन रहेछ । एलसीको कुरा हो भने राष्ट्र बैंक,अर्थमन्त्रालय र गोदाम व्यवस्थापनसँग समन्वय गरौं । बन्दरगाह तत्काल सञ्चालन गरौं । धेरै समय ढिला गर्न हुँदैन । सीमा नाकाका भन्सारहरुले पनि सहयोग गर्नुपर्छ ।’

मन्त्री बडूले भन्सार एजेण्डा तथा एलसी समस्या भए राष्ट्र बैंक,अर्थ मन्त्रालय र गोदाम व्यवस्थापनसँग समन्वय गरेर तत्काल चोभार सुख्खा बन्दरगााह सञ्चालनमा ल्याउनुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस