युवा शक्तिलाई स्वदेशमा बस्ने आकर्षण सरकारले पैदा गर्न सकेन : श्रममन्त्री कुँवर

सफल खबर संवाददाता

विहीबार, २३ असार २०७९, १४ : ४६
युवा शक्तिलाई स्वदेशमा बस्ने आकर्षण सरकारले पैदा गर्न सकेन : श्रममन्त्री कुँवर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले युवा शक्तिलाई स्वदेशमा बस्ने गरेर राज्यले आकर्षण पैदा गर्न नसकेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित सामाजिक संरक्षणको दिगोपनका लागि सामाजिक सुरक्षा कोषको भुमिका विषयक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले यस्तो बताएका हुन् ।

उनले देशमा रोजगारका ढोका बद भएपछि बाध्य भएर विदेश पलायन हुनुपरेको बताए । मन्त्री कुँवरले सरकारले स्वरोजगारलाई उच्च प्राथमिकतामा राखेर विदेश पलायन भइरहेका युवा शक्तिलाई देशमै रोजगारको वातावरण सिर्जन गर्न सकेमात्रै देश समृद्धिको दिशातर्फ अघि बढ्ने बताए ।

उनले राज्यका नीति, ऐन, कानूनहरुलाई पनि परिमार्जित गर्दै स्वदेशमा नै कसरी सहुलियत दिने र उत्पादनमुखी कार्यहरु गर्ने भन्ने बारेमा सोच्न आवश्यक रहेको बताए । मन्त्री कुँवरले आयातमा मात्रै भरपर्ने हो भने देशको राजश्व व्यवस्थापन र विदेशी मुद्राको सिञ्चिति गर्न कठिन हुने बताए ।

उनले सरकारले ल्याउने कुनैपनि ऐन,कानून जनता मारमा पर्ने किसिमका हुनु नहुने उल्लेख गरे । उनले भने, ‘वैदेशिक रोजगारको आकर्षण छ । यो हाम्रो बाध्यता हो । कुनैपनि दाजुभाई विदेशमा जान चाहँदैनन् । जतिसुकै तलव होस् आफ्नो स्वाभिमान देशमा नै राख्न चाहन्छन् । तर चारैतिर ढोका बन्द भयोभने उसले भेन्टिलेट खोज्छ । भेन्टिलेटको रुपमा वैदेशिक रोजगारलाई लिएको हो । त्यसैले हामीले स्वरोजगारलाई उच्च प्राथमिकता दिनुपर्छ ।’

उनले थपे, ‘स्वरोजगारका ठाउँहरु कहाँ छन्, स्वरोजगार प्रवद्र्धन गर्नको लागि र विदेशको आकर्षण गराउनको लागि हामीले देशमै कसरी रोजगारी सिर्जना गर्ने ? त्यसको खोजिमा ध्यान दिनुपर्छ । राज्यका नीति, ऐन, कानूनहरुलाई पनि परिमार्जित गर्दै कसरी सहुलियत दिने स्वदेशमा उत्पादनमुखी कार्यहरु गर्नको लागि ? अहिले किसान संख्या छ । ५० लाख जति हाम्रो युवा शक्ति विदेशमा छ । जग्गा, जमिन बञ्जर छन् ।’

उनले फेरि भने, ‘हाम्रा पुर्खा त्यहीँ धान फलाएर निर्यात गर्दथे । गहुँ, फलफूल निर्यात गर्थे । तर आज हामी चामल पनि आयात गर्छौं । जब हामी आयातमा मात्र भरपर्ने हुन्छौँ, त्यतिबेला हाम्रो विदेशी मुद्राको सिञ्चिति कसरी ब्यालेन्स होला ? राजश्व कसरी व्यवस्थापन होला ? त्यसैले हामीले युवा शक्तिलाई स्वदेशमा बस्ने गरेर राज्यले आकर्षण पैदा गर्नुपर्छ । आकर्षण पैदा त्यत्तिकै हुँदैन ? केही दिने बानीपनि बसाल्नुपर्छ । जनता मार्ने गरेर ऐनहरु आउनु हुँदैन ।’

मन्त्री कुँवरले पत्रकार जगतलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन पहल गर्ने बताए । उनले गाउँका दूरदराजमा भएको घटनालाई समेट्नैपर्ने बाध्यता भएपनि सवारी साधन र आवश्यक सामग्री नहुँदा पत्रकारलाई असहज भइरहेको बताए ।

उनले भने, ‘हाम्रो समाजमा दुईवटा क्षेत्र असाध्यै अपहेलित छ । पत्रकार पत्रकार भन्छौँ, सामान्य विषयमा पनि पत्रकारको विषयवस्तुलाई अर्कोतिर घुमाउँछौँ । केही कुरा गर्दापनि पत्रकार आउला कि ? हामी किन गल्ती गर्छौं । गल्ती नगर्ने हो भने त पत्रकारसँग डराउनु आवश्यक छैन नि । हाम्रो पत्रकारिता जगतलाई पनि सामाजिक सुरक्षा कोषसँग जोड्न पाएको भए झनै सुनमा सुगन्ध हुन्थ्यो, पत्रकारका आफ्ना पीडा छन् । गाउँमा कहाँ कहाँसम्म हिँडेर जानुपर्छ । समाचार त संकलन गर्नुपर्छ नै ।’

मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषलाई अझै प्रभावकारी बनाएर लैजान आवश्यक रहेको बताए । उनले हरेक राजनीतिकर्मीले फिल्डमा देखेका कुरालाई ठाउँमा पुग्दा बिर्सिनु नहुने पनि उल्लेख गरे । उनले सांस्कृतिक क्षेत्रलाई पनि सामाजिक सुरक्षा कोष अन्तर्गत ल्याउन सके धेरै समस्या समाधान हुने भन्दै त्यसमा आफू पहल गर्ने बताए ।

उनले भने वैदेशिक श्रमलाई कसरी सम्मानित बनाउने भन्ने कुरामा विशेष जोड दिने र नेपाल र नेपाली श्रमिक गएका देशबीच भएको सम्झौता तथा समझदारी राम्रो भएपनि बीचका मानिसले श्रमलाई दुर्गन्धित बनाइरहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस