पाँचथरको राँके–रवि सडक आयोजना अलपत्र

सफल खबर संवाददाता

विहीबार, २३ असार २०७९, ११ : २४
पाँचथरको राँके–रवि सडक आयोजना अलपत्र

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राँके–रवि–बुधबारे सडकको काम  लथालिङ्ग बनेको छ। भारतीय निर्माण कम्पनीको लापर्बाहीका कारण राँके–रवि–बुधबारे सडकले गति लिन सकेको छैन। पाँचथरको राँकेदेखि रवि–छ नम्बर बुधबारे हुँदै धनकुटाको भेडेटार जोड्ने १०३ किलोमिटर सडक कालोपत्र गर्न तोकिएको चार वर्षे अवधिको म्याद गुज्रेको सात महिना बितिसकेको छ। उक्त काम हालसम्म अगाडि बढ्न सकेको छैन। काम शुरू भएको पाँच वर्ष पुग्न लाग्दासम्म वित्तीय प्रगति १७ र भौतिक प्रगति १९ प्रतिशत मात्रै भएको छ। 

सम्झौता सकिँदासम्म न्यूनतम ३० प्रतिशत काम गरेकै हुनुपर्छ। मापदण्डअनुसार काम नभएकाले म्याद थप्न सक्ने अवस्था नभएको कन्सलटेन्ट कम्पनी सिम्याटका इन्जिनियर स्वागत महर्जनले बताए। तीन करोड २६ लाख १८ हजार डलर लागत रहेको उक्त सडक कालोपत्र गर्न भारतीय निर्माण कम्पनी एप्को इन्फ्रान्टले नेपाल सरकारसँग २०७५ सालमा सम्झौता गरेको थियोे। काम २०७८ मंसिरसम्म सक्नुपर्ने छ। सडक निर्माणका लागि सहयोग भारतीय एक्जिम बैंकले गरेको हो।

एप्को इन्फ्रान्टका प्रोजेक्ट म्यानेजर राजु सिंहले काममा ढिलाइ हुनुको कारक कोभिड–१९ र झरी भएको दाबी गरे। कालोपत्र गर्न जिम्मा लिएको उक्त कम्पनीले १०३ किलोमिटर लामो सडक १ नम्बर प्रदेशका पाँचथर, इलाम, मोरङ र धनकुटालाई सडक मार्गसँग जोड्ने उद्देश्यअनुसार तीन दशकअगावै शुरू भएको अभिलेख सडक डिभिजन इलामसँग छ।

उक्त सडक मेची राजमार्गअन्तर्गत इलाम–फिदिम खण्डमा पर्ने राँके बजारबाट सुरु भएर देउराली, घुर्विसे पञ्चमी, सप्तमी, रवि, चिसापानी पञ्चमी, कम्फुटार, लेकगाउँ, छ नम्बर बुधबारे, सौरे, मुढेवास, समिया, चौकीभञ्ज्याङ, राजारानी, डाँडाबजार, ओख्रे र नाम्जे हुँदै कोसी राजमार्गको धरान–धनकुटा सडकखण्डमा पर्ने भेडेटार पुगेर टुंगिन्छ ।

प्रतिक्रिया दिनुहोस