विनोद शाही हत्या प्रकरण : मेयर चलाउनेसहित ३ जनामाथि मुद्दा नचल्ने !

सफल खबर संवाददाता

मंगलबार, २१ असार २०७९, २० : २८
विनोद शाही हत्या प्रकरण : मेयर चलाउनेसहित ३ जनामाथि मुद्दा नचल्ने !

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको हत्या आरोपमा मेयर अम्बिका चलाउनेलगायत ३ जनामाथि मुद्दा नचल्ने भएको छ । मुलुकी अपराधसंहिता २०७४ को दफा ३१ अनुसार प्रमाण नपुगेको भन्दै सरकारी वकिल कौशल ढुंगानाले मुद्दा नचल्ने निर्णय गरेका हुन् ।

१५ वर्षीय शाहीको हत्या आरोपमा कांग्रेसबाट निर्वाचित पञ्चदेवल विनायक नगरपालिकाकी मेयर चलाउने र १२ जना नेता, कार्यकर्ताको नाममा जेठ २६ गते किटानी जाहेरी दर्ता भएको थियो । अनुसन्धानपछि प्रहरीले मेयर अम्बिका, नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

१० जनामाथि मुद्दा दायर

विनोद शाहीको हत्या आरोपमा १० जनामाथि मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय अछामले पक्राउ परेका ४ जना र फरार रहेका ६ जना गरी १० जनामाथि मुद्दा चलाएको हो । मुद्दा दायर गर्न भन्दै प्रहरीले पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई अदालतमा उपस्थित गराएको छ ।

यस्तै फरार रहेका अक्कल शाही, सज्जन शाही, कर्ण शाही, शान्ति शाही, द्रौपती शाही र दानमति शाही विरुद्ध पनि मुद्दा दायर गरिएको छ । दानमति जिल्ला समन्वय समितिको उपप्रमुख हुन् । गत जेठमा घरबाट हराएका ५ दिनपछि शाही नजिकै मृत फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस